मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेलमा मङ्गलबार बिहान उच्च अदालत वीरगञ्जका पदाधिकारी सवार एसयूभी सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको छ। दुर्घटनामा लक्ष्मी बडूको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा उच्च अदालत वीरगञ्जका प्रमुख न्यायाधीश गोकर्ण डंगी, रजिस्ट्रार तारादत्त बडू र उनीहरूका परिवारका सदस्य सवार थिए। घाइते हुनेमा प्रमुख न्यायाधीश डंगी, रजिस्ट्रार बडू, रितेन्द्र बडू, रिता बडू र चालक छुनिलाल चौधरी रहेको प्रहरीले बताएको छ।
उद्धार र उपचार
दुर्घटनापछि सबै घाइतेलाई सुरुमा भीमफेदी अस्पताल पुर्याइएको थियो। चार जनाको अवस्था गम्भीर भएपछि उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगियो। उनीहरूलाई छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको छ। लक्ष्मी बडूको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
गाडी नियन्त्रण गुमाउँदा दुर्घटना
दुर्घटनामा संलग्न गाडी प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो भएको प्रहरीले जनाएको छ। सडकमा गुडिरहेको उक्त गाडी नियन्त्रण गुमाएर भीरमा खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।






