काठमाडौं, १८ अगस्ट । ब्रिटिश मोडल कलेज (बीएमसी) ले क्याम्ब्रिज इन्टरनेसनल एएस एण्ड ए लेभलको मे/जुन २०२६ परीक्षा शृंखलामा ९४ प्रतिशत उत्तीर्ण दर हासिल गरेको छ। सो परीक्षामा कलेजका सात विद्यार्थीले स्ट्रेट ए* ग्रेड र ३३ विद्यार्थीले स्ट्रेट ए ग्रेड प्राप्त गरेका छन्।
कलेजका अनुसार यस परीक्षामा कूल १०६ विद्यार्थी सहभागी भएका थिए। ब्रिटिश एजुकेशन ग्रुपको सदस्य तथा द ब्रिटिश कलेजको सहयोगी संस्था रहेको बीएमसीले उत्कृष्ट नतिजा विद्यार्थीको निरन्तर तयारी, शिक्षकहरूको मार्गदर्शन र अभिभावकको सहयोगका कारण सम्भव भएको बताएको छ।
ब्रिटिश एजुकेशन ग्रुपका स्कूल प्रमुख रजन कुमार राईले विद्यार्थीहरूलाई बधाई दिँदै यो नतिजाका लागि शिक्षक तथा अभिभावकको योगदान रहेको बताएका छन्। “यो ब्रिटिश मोडल कलेज र सम्पूर्ण ब्रिटिश एजुकेशन ग्रुपका लागि गौरवको क्षण हो,” राईले भने।
उनले संस्था विद्यार्थीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक करियरका लागि तयार पार्न प्रतिबद्ध रहेको समेत जनाए। ए लेभल अध्ययन पूरा गरेका विद्यार्थीहरू उच्च शिक्षा र करियरतर्फ अग्रसर हुने क्रममा यो नतिजा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा रहेको कलेजले बताएको छ।



