हेटौंडा उपमहानगरपालिका-५ स्थित क्याम्पाडाँडा नजिक बुधबार बिहान भएको स्कुटर दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।
मृतक काभ्रेको बनेपा नगरपालिका-३ का स्थायी बासिन्दा अवास रञ्जितकार रहेको प्रहरीले जनाएको छ। उनी हाल चौघडामा बस्दै आएका थिए।
कान्तिराजपथ सडकखण्डअन्तर्गत माछा पालन केन्द्र नजिक बिहानीपख भएको दुर्घटना देखेर बिहान घुम्न निस्किएका स्थानीयले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई खबर गरेका थिए।
दुर्घटनाको विवरण
प्रारम्भिक अनुसन्धानअनुसार मधेश प्रदेश ०३-०२८ प ९७८९ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको उत्तरपूर्वी किनारामा रहेको पानीले भरिएको नालीमा खसेको थियो। दुर्घटनामा परी रञ्जितकारको मृत्यु भएको प्रहरीको भनाइ छ।
प्रहरी अनुसन्धान
घटनाको सूचनापछि मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर क्षेत्रीको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






