माइतीघर मण्डलामा लघुवित्त पीडितको पक्षमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका तीन जेन-जी अभियन्ताले २२ दिनपछि स्वतन्त्रता पाएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशबमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर उनीहरू मंगलबार थुनामुक्त भएका हुन्।
रिहा हुने अभियन्ताहरूमा अजय सोडारी, प्रकाश बम र सुनिल बिक छन्। उनीहरू सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका थिए।
धरौटी रकम बुझाउन नसक्दा कारागार चलान
गत साउन २० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूसँग जनही एक लाख रुपैयाँ धरौटी माग गरेको थियो। सो रकम बुझाउन नसकेपछि उनीहरूलाई कारागार चलान गरिएको थियो।
अदालतको आदेशपछि घट्दै गयो धरौटी
प्रशासनको उक्त निर्णयविरुद्ध अभियन्ताहरू बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। साउन २५ गते सर्वोच्च अदालतले उचित तथा मनासिब धरौटी तोक्न आदेश दिएपछि जिल्ला प्रशासनले धरौटी घटाएर जनही ५० हजार रुपैयाँ माग गरेको थियो। तर, सो रकमसमेत बुझाउन नसकेपछि उनीहरू थुनामै रहन बाध्य भए।
यसपछि उनीहरूले जिल्ला प्रशासनको निर्णयविरुद्ध काठमाडौं जिल्ला अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका थिए। त्यहाँ सुनुवाइ गर्दै जिल्ला अदालतले धरौटी रकम घटाएर जनही पाँच हजार रुपैयाँ तोक्न आदेश दिएको थियो।
शान्तिपूर्ण आन्दोलनमाथि प्रतिशोधको आरोप
अदालतको पछिल्लो आदेशअनुसार धरौटी बुझाएर थुनामुक्त भएपछि अभियन्ता अजय सोडारीले शान्तिपूर्ण आन्दोलन गरेकै भरमा आफूहरूलाई थुनामा राखेर सरकारले प्रतिशोध साँधेको आरोप लगाए।






