पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा बुधबार बिहान खसेको पहिरोले सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
पाल्पातर्फबाट सुरुङमार्गमा प्रवेश गर्ने बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ सडकमाथिबाट पहिरो खसेको हो। पहिरोले सडकको दुवै लेन पुरेपछि राजमार्गमा यातायात ठप्प भएको छ।
पहिरो झर्न रोकिएपछि सडक खुलाउन डोजर प्रयोग गरी काम थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। उनका अनुसार सडक सुचारु गर्न एक–दुई घण्टा लाग्न सक्छ।
सिद्धबाबा क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। राजमार्ग अवरुद्ध भएपछि पाल्पा–बुटवल सडकखण्डमा आवागमन प्रभावित भएको छ।







