राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले पछिल्लो एक वर्षमा सात हजार कुखुराको ‘पोस्टमार्टम’ गरेर भित्री रोग पहिचान गरेको छ। चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका कुखुराको शव परीक्षण गरिएको हो।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार शव परीक्षण गरिएका कुखुरामा विभिन्न खालका सङ्क्रमण देखिएका छन्। पोस्टमार्टमका अतिरिक्त नमुना परीक्षणबाट पनि रोग पहिचान गर्ने काम भएको छ। एक हजार पाँच सय कुखुराको नमुना परीक्षण गर्दा १० प्रकारका रोग भेटिएका छन्।
नमुना परीक्षणमा सबैभन्दा धेरै २२ प्रतिशत कुखुरामा इकोलाई सङ्क्रमण पाइएको छ। त्यस्तै, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा सिआरडी अर्थात् घ्यारघ्यारको रोग र नौ प्रतिशतमा ढुसीजन्य रोग देखिएको छ। चार प्रतिशतमा सिसिआरडी र साढे तीन प्रतिशतमा साल्मोनेलोसिस सङ्क्रमण भेटिएको छ। परीक्षणका क्रममा एभिएन इन्फ्लुएन्जा, कुखुराको हैजा, आइबी र रानीखेत रोगको सङ्क्रमणसमेत पहिचान भएको डा. श्रेष्ठले बताए।
द्रुत परीक्षणतर्फ २७८ नमुनामध्ये ४७ मा एभिएन इन्फ्लुएन्जा देखिएको छ। गम्बारोका १७६ नमुना परीक्षण गर्दा एक सय नौमा सङ्क्रमण पुष्टि भएको छ। रानीखेतका ९९ नमुनामध्ये सात र आइबीका ४६ मध्ये दुई नमुनामा रोग भेटिएको उनले जानकारी दिए।
यसैगरी, पिएटी विधिबाट परीक्षण गरिएका ३६९ नमुनामध्ये १२ मा साल्मोनेला र ३६० नमुनामध्ये १६ मा माइकोप्लाज्मा सङ्क्रमण पाइएको छ। इलाइजा विधिबाट जाँच गरिएका १८४ नमुनामध्ये ३८ मा माइकोप्लाज्मा देखिएको छ भने सोही परीक्षणका क्रममा १८४ नमुनामध्ये ९२ मा चिकेन इन्फेक्सस एनेमिया भाइरस (सिआइएभी) सङ्क्रमण फेला परेको छ।
नौ सय कुखुराको नमुना कल्चर गर्दा सात सय ८९ नमुनामा सङ्क्रमण देखिएको छ। सङ्क्रमण भएका कुखुराका लागि कुन एन्टिबायोटिक प्रयोग गर्ने भन्ने विषयमा सेवाग्राहीलाई जानकारी दिइएको डा. श्रेष्ठले बताए। कुखुरामा रोगको सङ्क्रमण रोक्न जैविक सुरक्षाका उपाय अपनाउनुपर्ने उनको भनाइ छ। जैविक सुरक्षा प्रभावकारी नभए रोगको जोखिम अझै बढ्ने उनले स्पष्ट पारे।







