हेटौँडा — बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नेकपा (एमाले) का नेता किरण थापा हुने भएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज अपराह्न ४:०५ बजे उनलाई मुख्यमन्त्री नियुक्त गर्ने र ४:२० बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (एनसीपी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयुक्त रूपमा दिएको समर्थनसहितको दाबीका आधारमा सरकार गठनको प्रक्रिया अघि बढाइनेछ। देवकोटाले सो दाबीका आधारमा नियुक्ति प्रक्रिया अघि बढाउने बताएका छन्।
तर, राप्रपाको केन्द्रीय नेतृत्वले भने यसलाई अस्वीकार गरेको छ। प्रदेश समितिले पार्टीको केन्द्रीय निर्णयविपरीत काम गरेको भन्दै राप्रपा केन्द्रले प्रस्तावित सरकारप्रति पार्टीको समर्थनलाई मान्यता नदिन निर्देशन दिएको छ। साथै, संसदीय दलका नेता उद्धव थापा र यस प्रक्रियामा संलग्न अन्य नेताहरूलाई कारबाही गर्ने चेतावनीसमेत राप्रपा केन्द्रले दिएको छ।
राप्रपाको आन्तरिक असहमतिले बागमती प्रदेशको गठबन्धनको स्थायित्वमाथि नै प्रश्न उठाएको छ। निर्धारित कार्यक्रमअनुसार भने थापाको नियुक्ति र सपथ आजै हुने देखिएको छ।







