काठमाडौँ, अगस्ट २०। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने नाडा अटो सोको १८औं संस्करण यही अगस्ट २५ देखि ३० सम्म भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा हुने भएको छ। एचपी लुब्रिकेन्ट्सले प्रायोजन गर्ने यो प्रदर्शनी संस्थाको ५०औं वार्षिकोत्सवका अवसरमा विशेष स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गर्न लागिएको हो।
छ दिनसम्म चल्ने प्रदर्शनीमा करिब तीन लाख वर्गफिट क्षेत्रफलमा दुई सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। ती स्टलमा सवारीसाधन, अटो पार्टपुर्जा, सामग्री, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण र सम्बन्धित सेवाहरू प्रदर्शन गरिनेछ।
प्रदर्शनीमा २३ यात्रुवाहक सवारी, १७ हल्का व्यावसायिक सवारी र १३ दुईपांग्रे सवारीका ब्रान्ड सहभागी हुनेछन्। साथै, १० वित्तीय तथा बीमा सेवा प्रदायक पनि रहनेछन्। करिब ७० स्टलमा अटो पार्टपुर्जा, सामग्री, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरणलगायत उत्पादन प्रदर्शन गरिनेछ।
नेपालमै असेंबल वा उत्पादन भएका सवारी, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेटलगायत सामग्रीको प्रवर्धन पनि प्रदर्शनीमा गरिनेछ। विभिन्न ब्रान्डका नयाँ मोडेल यसै अवधिमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
स्मार्ट मोबिलिटी, स्वचालित क्षेत्रमा दिगो विकास र कनेक्टिभिटी विषयमा संगोष्ठी आयोजना गरिने आयोजकले बताएको छ। प्रदर्शनीस्थलमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो पार्टपुर्जा र ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै क्षेत्र बनाइएको छ।
टिकट खल्ती एपबाट अग्रिम खरिद गर्न सकिनेछ र सीमित अवधिका लागि ५० प्रतिशत क्यासब्याक सुविधा उपलब्ध गराइनेछ। प्रदर्शनीस्थलमा मिडिया डेस्क, महानगरीय ट्रायफिक प्रहरीसँगको समन्वयमा ट्रायफिक सूचना डेस्क, क्याफेटेरिया, आकस्मिक चिकित्सा टोली, सीसीटीभी निगरानी र अग्नि सुरक्षा व्यवस्था रहनेछ। व्हीलचेयरमैत्री सुविधा पनि उपलब्ध गराइने छ।
पार्किङका लागि नेपाल प्रहरी क्लबको ब्लु पेभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित राष्ट्रिय ट्रेडिङ परिसर प्रयोग गर्न सकिने आयोजकले जनाएको छ। छ दिने प्रदर्शनीमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।







