क्रिकेटको रोमाञ्च आँखाले देखिने दृश्यमा मात्र सीमित हुँदैन भन्ने कुरा स्टेडियममा पुगेका दृष्टिविहीन दर्शकहरूको अनुभवले पुष्टि गरेको छ। पहिलो पटक स्टेडियमको वातावरण भोग्न पुगेकी कविताका लागि दर्शकहरू एकै स्वरमा कराउँदा शरीरभरि नै फरक ऊर्जा सञ्चार भएको अनुभूति भयो। खेलको सबैभन्दा सुन्दर पक्ष नै यही सामूहिकता रहेको उनको भनाइ छ, जसले भाषा, भूगोल र शारीरिक अवस्थाबीचका भित्ता भत्काएर सबैलाई एउटै डोरीमा बाँधिदिन्छ। उनका लागि त्यो क्षण जीवनकै नयाँ र रोमाञ्चक अनुभव बन्यो।
जन्मजात दृष्टिविहीन रहेका २७ वर्षीय किरणको बाल्यकाल भने सुदूरपश्चिमको क्रिकेटमय वातावरणमै बित्यो। सुदूरपश्चिम र क्रिकेटबीच गहिरो नाता रहेको उनको बुझाइ छ। गल्ली, चोक र खेतका गराहरूमा क्रिकेट हुर्केको त्यहाँको माटोले यस खेललाई केवल प्रतियोगिताका रूपमा नभई संस्कृतिकै हिस्सा मानेको छ। सानैदेखि गाउँमा क्रिकेट खेल्दै हुर्किएका किरणका अनुसार त्यहाँ गल्ली–गल्लीमा यो खेल खेलिन्छ।
त्यसैले सुदूरपश्चिमको टिम मैदानमा उत्रँदा आफू स्वयं खेलिरहेको जस्तो महसुस हुने उनले बताए। टिमसँग आफ्नो माटोको सुगन्ध जोडिएको उनको भनाइ छ। दृश्य नदेखे पनि खेलको गति र माहोल भने उनीहरूले छुट्टै तरिकाले पछ्याउँछन्।
मैदानमा के भइरहेको छ भन्ने थाहा पाउने विषयमा किरण भन्छन्, कमेन्ट्री र दर्शकको हुटिङले नै खेलको अवस्था बुझ्न सहयोग गर्छ। कुनै प्रहार कस्तो भयो वा विकेट झर्यो भन्ने कुरा प्रस्ट नभए सँगै बसेका साथीहरूलाई सोधेर जानकारी लिने उनको भनाइ छ। यसरी आवाज र साथीहरूको सहयोगमा उनीहरूको क्रिकेट अनुभव पूरा हुने गरेको छ।







