आठ गतेदेखि सुरु हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च दैलेखको श्रीस्थानमा रहेको प्राकृतिक ज्वालाबाट बाल्नुपर्ने सुझाव स्थानीयस्तरबाट आएको छ। हालसम्म भएका राष्ट्रिय खेलकुदमा भने लुम्बिनीबाट ओलम्पिक टर्च ल्याउने अभ्यास रहँदै आएको छ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पूर्व सदस्यसचिव विश्वामित्र संज्यालका अनुसार श्रीस्थानको ज्वाला हजारौं वर्षदेखि निरन्तर बलिरहेको छ। कर्णालीमा हुने खेलकुदको आयोजनामा प्रदेशभित्रै रहेको यही प्राकृतिक ज्वालाबाट ओलम्पिक टर्च सल्काउनुपर्ने उनको भनाइ छ।
टर्च यात्रालाई उत्तरतर्फ हुम्लाको हिल्सासम्म र दक्षिणतर्फ रुपैडिहासम्म पुर्याउन सकिने संज्यालले बताए। यस क्रममा मुगुको राराताल र जुम्लाको चन्दननाथ मन्दिर हुँदै टर्च अघि बढाउने उनको सुझाव छ। दक्षिणी छेउमा भने कर्णाली प्रदेशको सिमाना भारतसँग जोडिँदैन भन्ने कुरा पनि उनले उल्लेख गरे।
दैलेखको प्राकृतिक ज्वालाबाट टर्च बाल्दा कर्णालीको प्रचार-प्रसार हुने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ। कर्णालीमा खेलकुद हुँदा टर्च बाल्न लुम्बिनी पुग्नु नपर्ने पनि उनले बताए।
यसैबीच शनिबार राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार-प्रसार उपसमितिको बैठकमा पत्रकारहरूले पनि ओलम्पिक टर्च दैलेखको प्राकृतिक ज्वालाबाट बाल्न सुझाव दिएका छन्।







