धर्म गौतमको पुस्तक ‘बीपी र विद्रोहका तीन दिन’ यसै साता प्रकाशित भएको छ। सोही पुस्तकको एक अंशमा लेखकले २०२९ सालको जाडोयाममा सारनाथ पुगेर बीपीसँग भएको पहिलो भेट, त्यहाँको दैनिक जीवन र निर्वासनका बेला हतियार खरिद तथा ओसारपसार गर्नुपरेको जोखिमपूर्ण अवस्थाबारे स्मरण गरेका छन्।
लेखकका अनुसार त्यसबेला बीपी सारनाथको भाडाको घरमा बस्थे। गौतम नक्सालबारीबाट गिरिजा दाइसँगै त्यहाँ पुगेका थिए। त्यसको करिब ६ महिनाअघि सिलिगुडीमा बीपीलाई एक झलक देखेका उनले सारनाथ पुगेपछि पहिलो पटक कुराकानी गर्ने अवसर पाए। पहिलो भेटमै बीपीको व्यवहार सरल लागेको र वात्सल्य पाएको स्मरण गर्दै गौतमले उक्त भेट अविस्मरणीय रहेको उल्लेख गरेका छन्। पहिलो पटक सारनाथ पुग्दा उनी तीन रात र दुई दिन त्यहीं बसेका थिए।
बनारस सहरको उत्तरपूर्वमा करिब १० किलोमिटर दूरीमा रहेको सारनाथ भगवान् बुद्धले पहिलो पटक धर्मोपदेश दिएको स्थान हो। बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल मानिने यहाँको शान्त वातावरण र मृगहरू चर्ने उद्यान अहिले पनि आँखामा ताजा रहेको गौतमको भनाइ छ। बीपीको निवास त्यही उद्यानबाट करिब सय मिटर दूरीमा थियो।
सामूहिक बसाइ र बीपी निवासको दैनिकी
बीपी निवासको मूल कोठामा ठूलो टेबल र वरिपरि सात–आठ कुर्सी रहन्थे। आगन्तुकहरूलाई त्यहीं बसाएर बीपी भेटघाट गर्थे; खानाको बेला सोही टेबल डाइनिङ टेबलका रूपमा प्रयोग हुन्थ्यो। खानामा दाल, भात र तरकारी नै मुख्य हुन्थ्यो। कहिलेकाहीँ दही, माछा वा मासु पनि पुग्थ्यो। बिहानको खाजाको चलन नभए पनि करिब नौ बजे खाना, दिउँसो चिया र बेलुका फेरि खाना खाने गरिन्थ्यो।
बीपी थोरै खान्थे, तर गिरिजा दाइभन्दा धेरै। गिरिजा दाइ भने एक गाँस भात पनि पुग्ने–नपुग्ने गरी अति कम खान्थे। खाना खाँदा बीपीले मस्तिष्कले भात पचाउनमै बढी ऊर्जा खर्च हुने भन्दै ठट्टा गर्ने गरेको स्मरण गौतमले गरेका छन्।
त्यहाँको सामूहिक बसाइलाई ‘क्याम्प’ वा ‘अफिस’ भनिन्थ्यो। भारतका विभिन्न ठाउँमा निर्वासनमा रहेका पार्टीका नेता–कार्यकर्ता बनारस आउँदा त्यहीं बस्ने र बीपीसँग भेट गरेर काम सकेपछि फर्कने गर्थे। गणेशमानजी भने बीपी निवासमै बस्ने व्यवस्था हुन्थ्यो। बनारसकै गल्लीमा कतिपय साथीहरूका आफ्नै डेरा थिए भने सामूहिक रूपमा बस्ने नेता–कार्यकर्ता गंगा किनारको भाडाको घरमा बस्थे।
बीपी निवासमा बीपीकी आमा, पत्नी सुशीला, गिरिजा दाइ, नोना भाउजू र शैलजाजीको उपस्थिति हुन्थ्यो। बेलाबखत बीपीका छोरा, छोरी र बुहारी पनि आउने गर्थे। आमा प्रायः विराटनगरतिरै बस्ने र सुशीला भाउजू कहिलेकाहीँ आउजाउ गर्ने प्रसंग पुस्तकमा छ।
हतियार जोहो र जोखिमपूर्ण ओसारपसार
गिरिजा दाइको जिम्मेवारीमा बीपी र भारतका नेता तथा शुभचिन्तकबीच सम्पर्क सूत्रको काम, पार्टी संगठनको काम र हतियारको जोहो गर्नु थियो। सञ्चारका साधन कम भएका बेला उनी प्रायः पटना, कलकत्ता र दिल्लीसम्म पुग्नुपर्थ्यो। दार्जिलिङतिर जाँदा नक्सालबारीबाट गौतम पनि साथै हुन्थे। भेटघाटकै आवरणमा स–साना हतियार खरिद र संकलन हुन्थ्यो।
विभिन्न सुराकीका आधारमा हतियारका कालोबजारियासम्म पुगेर किन्नुपर्थ्यो। अधिकतर हतियार आपराधिक क्रियाकलापमा संलग्न स्थानीयहरूसँग लिनुपर्ने भएकाले धोका र सुरक्षाको जोखिम उत्तिकै हुन्थ्यो। कतिले दुःखले जोरजाम गरेको पैसा लिएर धोका दिन्थे। हतियार पाएपछि त्यसलाई सुरक्षित स्थानसम्म पुर्याउनु अर्को चुनौती थियो। रिमोल्बर, ग्रिनेड र राइफलका गोली कहिलेकाहीँ जीउमा बाँधेर बाहिरबाट ज्याकेट लगाएर हिँड्नुपर्थ्यो। नोना भाउजूले पनि यस्तो काम धेरै पटक गरेको देखेको गौतमले बताएका छन्। खाजा खान रोकिँदा पनि ढाड दुखेको बहाना गरेर सावधानी अपनाउनुपर्ने अवस्था रहेको उनको स्मरण छ।
गिरिजा दाइ प्रायः बीपीकै एम्बासेडर कारमा यात्रा गर्थे। उनको सुरक्षाका लागि तीन–चार भारतीय प्रहरी जिपमा पछ्याउँथे। उनीहरूको काम सुरक्षा दिनु र गिरिजा दाइका गतिविधिमा निगरानी राख्नु दुवै थियो। त्यसैले हतियार ओसारपसार गर्दा उनीहरूको आँखा छल्नुपर्थ्यो, तर उनीहरूकै कारण अन्य प्रहरीको डर भने कम हुने गरेको लेखकले उल्लेख गरेका छन्।
गौतमले भारत प्रवासको साढे चार वर्षमा करिब २०–२२ पटक सारनाथ आउजाउ गरेको सम्झना गरेका छन्। कहिले एक रात, कहिले एक हप्तासम्म बसे; उपचारका लागि एक पटक करिब एक महिना बस्नुपरेको थियो। एक रातबाहेक उनी सधैं बीपी निवासमै बस्थे।
यो अंश धर्म गौतमको यसै साता प्रकाशित पुस्तक ‘बीपी र विद्रोहका तीन दिन’बाट लिइएको हो।



