मुख्य सामग्रीमा जानुहोस्

भन्सार छलीका तस्कर छाडेको आरोपमा सप्तरीका इलाका प्रहरी प्रमुखको जिम्मेवारी खोसियो

सप्तरीको बोदेबरसाइनमा भारतबाट भन्सार छलेर ल्याइएको सामानसहित पक्राउ परेकालाई प्रहरी कार्यालयबाटै छाडेको आरोप लागेका इलाका प्रहरी प्रमुखको जिम्मेवारी खोसिएको छ। प्रारम्भिक छानबिनले माथिल्लो निकायमा गलत जाहेरी गरेको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भन्सार छलीका तस्कर छाडेको आरोपमा सप्तरीका इलाका प्रहरी प्रमुखको जिम्मेवारी खोसियो
Online Khabar

भन्सार छली गरी ल्याइएको सामानसहित पक्राउ परेका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडेर विवादमा आएका एक प्रहरी अधिकारीको जिम्मेवारी खोसिएको छ। इलाका प्रहरी कार्यालय बोदेबरसाइनका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) शिवशंकर शर्मालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा तानिएको हो।

साउन १८ गते अपराह्न करिब ३:३० बजे बोदेबरसाइन नगरपालिका–५ को बोदेबरसाइन गाउँबाट भारतबाट भन्सार छली गरी ल्याइएको मोबाइल पार्ट्स र मोटरसाइकलका सामानसहित सुनिल मण्डल नामका भरिया पक्राउ परेका थिए। स्थानीयको सहयोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बोदेबरसाइन ल्याएको थियो।

पक्राउ परेका मण्डल र सामान छुटाउन मुख्य कारोबारी देव कुमार यादव प्रहरी कार्यालय पुगेका थिए। उनलाई समेत प्रहरीले तत्कालै नियन्त्रणमा लियो। तर, तस्करलाई बचाउन प्रहरीले घटना विवरणको मुचुल्का फेरबदल गरेको आरोप छ।

प्रहरीले भने साउन १९ गते राति १२:३० बजे बोदेबरसाइन–५ को शिवचोकबाट नम्बर प्लेट नभएको रातो रङको हिरो १६० सीसी एक्स्ट्रिम मोटरसाइकल तथा विभिन्न मोबाइलका सामान बरामद भएको जनाएको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीले साउन २१ गते जारी गरेको विज्ञप्तिमा प्रहरी टोली देख्नेबित्तिकै तस्करहरूले मोटरसाइकल र बोरा सोही स्थानमा छाडेर भागेको दाबी गरिएको थियो।

वास्तविक घटनाको विवरणभन्दा फरक मुचुल्का तयार भएको आरोपपछि स्थानीय स्तरमा प्रहरीको आलोचना भएको थियो। सोही विषयमा साउन २४ गते अनलाइनखबरमा समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरी नायब उपरीक्षक हेमराज घिमेरेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको थियो।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक छानबिनमा सई शर्माले आफूभन्दा माथिल्लो निकायमा गलत जाहेरी गरेको पाइएको छ। तर, जिल्ला प्रहरी कार्यालय सप्तरीले छानबिन प्रतिवेदन सार्वजनिक गरेको छैन।

यसैबीच, बोदेबरसाइन इलाका प्रहरी कार्यालयमा प्रहरी नायब निरीक्षक गुप्तबहादुर राउतलाई जिम्मेवारीसहित पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।