२५ साउन, काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयहरूमा श्रद्धालुको भीड लागेको छ । पशुपतिनाथ मन्दिरसहित देशका विभिन्न शिवालयमा बिहानैदेखि दर्शन र पूजापाठका लागि भक्तजनको घुइँचो छ ।
साउन महिनाका हरेक सोमबार व्रत बसेर शिवको आराधना गर्दै आएका भक्तहरूले आज विधिपूर्वक व्रत समापन गर्दैछन् । यसअघिका सोमबार व्रत गर्न नपाएकाहरूले अन्तिम सोमबार व्रत बसेर पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत, पूजापाठ र दान गर्ने परम्परा छ ।
देशभरका शिवालयमा भक्तजनको घुइँचो
बोलबम तीर्थालुहरूको पनि आज देशभरका शिवालयमा उल्लेख्य उपस्थिति छ । काठमाडौंको सुन्दरीजलबाट जल ल्याई पशुपतिनाथलाई चढाएर उनीहरूले पूजापाठ गरिरहेका छन् ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेवका रूपमा चिनिने हलेसीसहित सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरका सिरेश्वर र कलानेश्वर तथा दाङको धारपानी लगायतका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड छ ।
त्यस्तै, चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा समेत साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्ने श्रद्धालुको घुइँचो लागेको छ ।
सोमप्रदोष व्रतको संयोग
यसपटकको साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको संयोग परेको धर्मशास्त्रका जानकारहरू बताउँछन् । सोमबारका दिन त्रयोदशी तिथि परेमा त्यसलाई सोमप्रदोष भनिन्छ । प्रदोष भनेको सूर्यास्तअघि तथा सूर्यास्तपछिको विशेष समय हो, जुन शिवपूजाका लागि शुभ मानिन्छ ।
प्रदोषकालमा अर्थात् साँझ सूर्यास्त आसपासको समयमा शिवमन्दिर पुगेर दीप प्रज्वलनसहित पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ । यस दिन दूध, दही, घ्यु, बेलपत्रजस्ता सामग्रीले पूजा गर्नुका साथै पहेँलो वस्तु चढाउनाले शुभ फल मिल्ने बताइन्छ ।



