काठमाडौं, ७ भदौ । पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स ईस्पोर्ट्सले आफ्नो नाममा लेखाएको छ । ईस्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको आयोजनामा सम्पन्न प्रतियोगितामा विजयी बनेको डट्स ईस्पोर्ट्सले पुरस्कारस्वरूप ४०० अमेरिकी डलरसमेत हात पारेको छ ।
देशभरबाट छनोट भएका १६ टोलीबीच राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत कार्यक्रममा प्रतिस्पर्धा भएको थियो । दशरथ रंगशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते आयोजित दुईदिने फाइनलमा उत्कृष्ट देखिएको डट्स ईस्पोर्ट्सले उपाधि हात पारेको हो ।
विजेता टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिमविक्रम केसीले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताका उत्कृष्ट १२ टोली भने ‘रोड टु पीएमजीओ’ अन्तर्गतको थप चरणमा प्रवेश गरेका छन्, जसले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगितामा पुग्ने बाटो खोल्नेछ ।
नेपालमा ई–स्पोर्ट्सलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सफल रहेको ईशानका सचिव आशिष दाहालले बताए ।







