मुख्य सामग्रीमा जानुहोस्

रिसाङका विस्थापितलाई तीन स्थानमा अस्थायी आवास, जुनिचाँदेका पीडित अझै अलपत्र

रिसाङका १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर बनाएर राख्ने सहमति भएको छ। जुनिचाँदे–६ को सिर्प बस्तीका करिब ८० घरधुरी भने अझै अलपत्र छन्।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रिसाङका विस्थापितलाई तीन स्थानमा अस्थायी आवास, जुनिचाँदेका पीडित अझै अलपत्र
Online Khabar

जाजरकोट, ६ भदौ । भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोबाट विस्थापित भएकाहरूलाई तीन स्थानमा अस्थायी आवास बनाएर राख्ने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) को टोलीले स्थलगत अनुगमन गरेपछि पीडितलाई सुरक्षित स्थानमा सार्ने सहमति भएको हो।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार रिसाङ विद्यालय नजिक, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरमा अस्थायी सेल्टर निर्माणका लागि जग्गा टुंगो लगाइएको छ। प्राधिकरणको सुझाव र स्थानीय तहसँगको समन्वयमा ती तीन स्थान छनोट गरिएको हो। अस्थायी सेल्टरका लागि चाहिने जग्गाको भाडा स्थानीय तहले नै बेहोर्ने सहमति भएको छ।

पहिरोले घर र बस्ती क्षति गरेपछि ठूलो संख्यामा नागरिक विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित रूपमा राख्न तत्काल अस्थायी आवासको व्यवस्था गर्न लागिएको प्रशासनले जनाएको छ। वर्षायाम अझै जारी रहेकाले पहिरो र बाढीको जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ।

एनडिआरआरएमए टोलीले भेरी नगरपालिकाका १, २, ३ र ४ नम्बर वडाको भूगोल अध्ययन गरेको थियो। नगरपालिका र जग्गाधनीबीच सहमति भइसकेकाले शनिबारदेखि त्रिपाललगायतका सामग्री प्रयोग गरेर सेल्टर निर्माण थालिने भएको छ। टोलीका संयोजक सुरेश सुनारका अनुसार काठमाडौं गएर मात्रै अन्तिम प्रतिवेदन तयार हुनेछ। उनले सबै स्थानको निरीक्षण भइरहेकाले प्रतिवेदनपछि मात्र थप विवरण दिन सकिने बताए।

रिसाङमा चार जनाको मृत्यु र १० जना घाइते भएका छन्। यस घटनाले स्थानीयवासीलाई शोक र त्रासमा पारेको छ। बस्ती नै उच्च जोखिममा रहेकाले हाल विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरमा रहेका विस्थापितलाई मकैबाली भएको खेतमा सार्ने तयारी गरिएको छ। १६८ घरधुरीका ८९७ जनालाई अस्थायी सेल्टरमा राखिने जनाइएको छ।

जुनिचाँदेका पीडित अझै अलपत्र

यता, जुनिचाँदे गाउँपालिका–६ को सिर्प बस्तीका नागरिक भने अझै घटनास्थलमै अलपत्र अवस्थामा छन्। सिर्क र सेती खोलामा आएको बाढीले बस्ती पुग्ने बाटो अवरुद्ध पारेपछि राहत सामग्रीसमेत पुर्‍याउन कठिन भएको छ। करिब ८० घरधुरी रहेको सिर्प बस्तीमा बाढी र पहिरोले आवतजावत प्रभावित भएको छ भने खाद्यान्न र अत्यावश्यक राहत सामग्री अभाव हुन थालेको छ।

प्रतिनिधिसभा सदस्य खड्गबहादुर बुढाका अनुसार सुरक्षाकर्मी घटनास्थलतर्फ गए पनि नागरिक बसोबास गरिरहेको स्थानसम्म सहज रूपमा पुग्न सकेका छैनन्। उनले अवरुद्ध बाटो खुलाएर तत्काल राहत पुर्‍याउनुपर्ने आवश्यकता औंल्याएका छन्। जाजरकोटका प्रहरी प्रमुख बुद्धीसागर पुरीले भने पहिरोमा बेपत्ता भएका दुई जना अझै नभेटिएको जानकारी दिएका छन्।

यसैबीच, जिल्ला सदरमुकाममा खानेपानीको समस्या देखिएको छ। लगातारको वर्षा र विभिन्न स्थानमा भएको क्षतिका कारण खानेपानी आपूर्ति प्रभावित भएपछि सदरमुकामवासीले अभाव खेप्नुपरेको हो। विपद्बाट क्षतिग्रस्त खानेपानी र सडक पूर्वाधारलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याउन स्थानीय प्रशासनले पहल गरिरहेको जनाइएको छ।