मुख्य सामग्रीमा जानुहोस्

आज पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको आकलन

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा अहिले वर्षा भइरहेको छ । दिउँसो र राति पहाडी तथा हिमाली क्षेत्रमा वर्षा झन् बढ्न सक्ने महाशाखाले बताएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
आज पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको आकलन
Online Khabar

मनसुनी वायुको असर अहिले देशभर कायम रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (७ भदौ) दिउँसो र राति देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यसबीच मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आकाश सामान्यतया बदली रहँदा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

आज दिउँसो हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा समेत यस्तै प्रकारको मध्यम वर्षा हुन सक्नेछ । त्यस्तै, कोशी, बागमती र गण्डकीका तराईका केही स्थानमा तथा मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको आकलन छ ।

राति पनि देशभरको मौसम यस्तै रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुनसक्ने महाशाखाले बताएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । सो क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायात प्रभावित हुनसक्ने भन्दै महाशाखाले आफ्ना सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।