७ भदौ, काठमाडौं । एप्पलले निर्माण गरिरहेको क्यामेरासहितको एयरपोड्सको भिडियो सार्वजनिक भएको छ । लिक भएको भिडियोमा एक व्यक्तिले पुस्तकको कभर एयरपोड्सतिर देखाउँछन् र सिरीले त्यसको नाम पढेर सम्झन्छ । यो एप्पलको ‘भिजुअल इन्टेलिजेन्स’ सुविधाको प्रदर्शन हो ।
भिडियो बाहिरिएपछि यो उत्पादन यही सेप्टेम्बरमा आउने अनुमान गरिएको थियो । तर ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानले भने ती हल्लालाई खण्डन गरेका छन् । उनका अनुसार आपूर्तिमा समस्या रहेको र सफ्टवेयर तयार नभएकाले क्यामेरावाला एयरपोड्स यो वर्ष बजारमा आउँदैन । यसको लन्च २०२७ सम्मका लागि सारिएको छ ।
एप्पलले अहिले दुई प्रकारका एयरपोड्समा काम गरिरहेको छ । पहिलो मोडेल ‘बी७९०’ हो, जुन हाल बजारमा रहेको एयरपोड्स प्रो ३ मा क्यामेरा थपेर तयार पारिएको छ । भिडियोमा देखिएको मोडेल यही हो । यसलाई सुरुमा २०२६ मा सार्वजनिक गर्ने योजना थियो, तर अहिले त्यो योजना रद्द गरिएको छ ।
दोस्रो मोडेल ‘बी७९८’ नयाँ पुस्ताको एयरपोड्स प्रो हो । यसैमा क्यामेरा जोडिनेछ र यो मोडेल २०२७ मा बजारमा ल्याउने लक्ष्य राखिएको छ ।
एप्पलका अनुसार यी क्यामेराले फोटो वा भिडियो खिच्ने काम गर्दैनन् । ती क्यामेराले वरपरको वातावरण पहिचान गरी सिरीलगायत एआई प्रणालीलाई जानकारी दिने मात्र हो ।
यसैबीच कानमा क्यामेरा राख्ने तयारीले गोपनीयतासम्बन्धी चिन्ता पनि बढाएको छ । सामाजिक सञ्जालमा यसलाई ‘पर्भर्टपोड्स’ भन्दै आलोचना भइरहेको छ ।
एप्पलले क्यामेरावाला एयरपोड्स २०२७ को शरद् ऋतुमा आइफोनको २०औं वार्षिकोत्सव संस्करणसँगै सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ ।







