एप्पलले निर्माण गरिरहेको क्यामेरासहितको एयरपोड्सको भिडियो लिक भएको छ । उक्त भिडियोमा एक व्यक्तिले एयरपोड्सलाई पुस्तकको कभर देखाउँछन् र सिरीले त्यसको नाम पढेर सम्झिराखेको देखिन्छ । यो एप्पलको 'भिजुअल इन्टेलिजेन्स' प्रविधिको प्रयोग हो ।
भिडियो सार्वजनिक भएपछि धेरै प्रयोगकर्ताले यो उत्पादन यही सेप्टेम्बरमा बजारमा आउने अनुमान गरेका थिए । तर ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानले त्यो आशंकालाई खारेज गर्दै यो वर्ष एयरपोड्स नआउने बताएका छन् । उनका अनुसार आपूर्ति व्यवस्थापनमा अझै समस्या छ भने आवश्यक सफ्टवेयर पनि तयार भइसकेको छैन । यही कारण उत्पादनको सार्वजनिकीकरण सन् २०२७ सम्म सारिएको हो ।
एप्पलले हाल दुई मोडेलमा काम गरिरहेको छ । पहिलो 'बी७९०' हो, जुन अहिलेकै एयरपोड्स प्रो ३ मा क्यामेरा थपेर तयार पारिएको मोडेल हो । लिक भएको भिडियोमा देखिएको पनि यही हो । यसलाई सुरुमा सन् २०२६ मा ल्याउने योजना थियो, तर त्यो योजना रद्द भएको छ ।
दोस्रो मोडेल 'बी७९८' भने नयाँ पुस्ताको एयरपोड्स प्रो हो । यही मोडेलमा क्यामेरा जोड्ने र सन् २०२७ मा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।
यी क्यामेराले तस्बिर वा भिडियो खिच्ने काम नगर्ने एप्पलले जनाएको छ । वरपरको वातावरण पहिचान गरी सिरीलगायतका एआई प्रणालीलाई जानकारी दिने मात्र तिनको काम हुनेछ ।
गोपनीयतामाथिको प्रश्न
कानभित्रै क्यामेरा राखिने विषयले गोपनीयतासम्बन्धी चिन्ता भने बढाएको छ । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले यसलाई 'पर्भर्टपोड्स' नाम दिँदै आलोचना गरिरहेका छन् ।
यो एयरपोड्स सन् २०२७ को शरद ऋतुमा आइफोनको २०औं वार्षिकोत्सव संस्करणसँगै सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।







