काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिरको मूर्तिमा शनिबार साँझ आरतीका क्रममा पसिना देखिएको छ। देशमा कुनै दैवी विपत्ति वा राजनीतिक अस्थिरता आउनुअघि यस्ता संकेत हुने गरेको भन्दै मूर्तिमा क्षमापूजा समेत गरिएको छ।
मन्दिर व्यवस्थापन उपसमितिका पूर्व संयोजक किरण श्रेष्ठका अनुसार मूर्तिमा पसिना आउनुलाई आसन्न प्रकोप वा संकटको संकेतका रूपमा हेरिन्छ। पसिना देखिएपछि मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट क्षमापूजा गरिएको उनले बताए।
श्रेष्ठका अनुसार यसअघि पनि विभिन्न घटनाका बेला मूर्तिमा पसिना आएको थियो। गत वर्षको जेनजी आन्दोलनका बेला, २०८१ सालको बाढीपहिरोका समयमा, २०७२ सालको भूकम्प र २०५८ सालको दरबार हत्याकाण्डका बेला पनि यस्तै देखिएको थियो। उनका अनुसार १९९० सालदेखि नै दैवी प्रकोप वा राजनीतिक संकट आउनुअघि पटक–पटक मूर्तिमा पसिना देखिने गरेको छ।
किंवदन्ती र ऐतिहासिक मान्यता
पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६५५ वर्ष पुरानो मानिन्छ। इस्वीसंवत् ४२५ मा निर्माण भएको यो मन्दिरका देवीलाई भगवतीकै जेठी दिदीका रूपमा चिनिने गरिन्छ।
स्थानीय किंवदन्तीअनुसार बुच्चाकोट भन्ने ठाउँमा रहेको मूर्ति एक स्थानीय बृद्धको सपनामा प्रकट भई उत्तरतर्फ लैजान आग्रह गरेको थियो। मूर्ति बोकेर हिँड्दा हालको मन्दिर रहेको स्थानमा रात परेपछि त्यहीँ विश्राम गरिएको र बिहान मूर्ति बोक्न खोज्दा नसकिएपछि स्थानीय ६० घरधुरीले मद्दत गरे पनि असम्भव भएकाले सोही स्थानमा स्थापना गरी पूजाआजा गर्न थालिएको किंवदन्ती छ।
यसैगरी, कालीगढले दाहिने हातले पलाञ्चोक र नाला भगवतीको मूर्ति, देब्रे हातले नक्साल भगवतीको मूर्ति र गोडाले शोभा भगवतीको मूर्ति बनाएको किंवदन्ती पनि छ। पलाञ्चोक भगवती सबैभन्दा पुरानो र दाहिने हातबाट बनेकाले अन्य भगवतीको तुलनामा बढी चर्चित र गन्तव्यस्थान बनेको छ।
दशैंको नवरात्रिमा यहाँ हाँस, बोका र राँगाको बलि दिने चलन छ। यस्तै, वैशाख पूर्णिमा, माघे सङ्क्रान्ति र जेठको पूर्णिमामा मेला लाग्ने तथा वैशाख पूर्णिमा र दशैंको एकादशीका दिन रथ बनाएर मन्दिर परिक्रमा गराउने प्रचलन रहेको छ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि यहाँ मन्दिर, पुजारी, गुठियार र दमाइहरूको व्यवस्था भएको किंवदन्ती छ। त्यसपछि पुजारीले दैनिक नित्यपूजा गर्ने, पहरीले रथ बोक्ने र पूजाका लागि फूल ल्याउने, कसाइले काटमार गर्ने तथा कुस्लेले पूजाका बेला बाजा बजाउने गरी कामको बाँडफाँट भएको मानिन्छ।







