७ भदौ, काठमाडौं । काठमाडौं गोर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरतलाई आफ्नो टोलीमा भित्र्याएको छ। फ्रेन्चाइजीले सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा आबद्ध गरिएको जानकारी सार्वजनिक गरेको हो।
भरत नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन्। उनले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए। भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका उनले टी–२० फ्रेन्चाइज क्रिकेटमा पनि उल्लेखनीय अनुभव बटुलेका छन्।
३२ वर्षका भरतले टी–२० क्रिकेटमा ९१ खेल खेल्दै १ हजार ८ सयभन्दा बढी रन बनाएका छन्। उनी सन् २०२४ को आईपीएल उपाधि जितेको कोलकाता नाइट राइडर्स टोलीका सदस्य पनि थिए। उनको झोलामा भारतीय घरेलु क्रिकेट र आईपीएलको लामो अनुभव छ।
विकेटकिपिङसँगै मध्यक्रममा उपयोगी ब्याटिङ गर्न सक्ने भरत थपिएसँगै काठमाडौं गोर्खाजको टोली आगामी सिजनका लागि अनुभवी बनेको छ। उनको आगमनले टोलीको विकेटकिपिङ र ब्याटिङ विकल्प थप बलियो बनाएको छ।





