काठमाडौं, ७ भदौ। नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाको विश्वासको मत प्रस्तावलाई समर्थन नगर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ। दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा थापाले सोमबार प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ।
ह्विपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन र सांसदहरू तटस्थ नरहनसमेत भनिएको छ। मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाले कांग्रेसले आफ्ना सदस्यहरूलाई सोहीअनुसार मतदान गर्न निर्देशन दिएको हो।







