काठमाडौं — अभिनेत्री नीति शाह र अभिनेता प्रभात पाल ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘जदौ’को टिजर युट्युबमार्फत सार्वजनिक भएको छ। छोटो टिजरले फिल्मको कथावस्तु त्रिकोणात्मक प्रेमकथामा केन्द्रित हुनसक्ने संकेत गरेको छ। टिजरमा प्रभात पाल ठकुरीको नीति शाह र राजश्री थापासँगको प्रेम देखिने गरी प्रस्तुत गरिएको छ।
आगामी असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यो फिल्मलाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथाका रूपमा प्रस्तुत गरिएको छ। नेपाली समाजमा विद्यमान जातसम्बन्धी विभेदकारी व्यवहारबाट उत्पन्न समस्या र त्यसको निराकरणका लागि चालिने पाइलालाई फिल्ममा सजीव ढंगले देखाउने प्रयास गरिएको निर्देशक अन्जन शर्माले बताएका छन्।
पटकथा लेखकसमेत रहेका अर्का निर्देशक काजी लिम्बूले फिल्ममा भरपूर मनोरञ्जनसँगै जातीय भेदभाव र असमानताको खाडल पुर्ने मननीय सन्देश समेटिएको बताएका छन्।
समीश्रण मूभिज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा र राजश्री थापाको शीर्ष भूमिका छ। साथै विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन, सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की र स्वस्तिका चौधरीलगायत कलाकारको अभिनय रहेको छ।
फिल्ममा प्रीति कौर, बाबुल गिरी र गोपाल लोहारको शब्द, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा राजनराज शिवाकोटी, रचना रिमाल, किरण गजमेर र बाबुल गिरीको स्वर रहेको छ। नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्। श्याम तामाङ र नवराज उप्रेतीको छायाङ्कन रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन्।
राजाराम सुवेदी, सुमीत्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सह-निर्माता रहेको फिल्मको निर्मातामा सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल छन्।




