७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षमा रहेका बेला संसदको मञ्चबाट जनसरोकारका सवाल सशक्त ढंगले उठाउन नेता तथा कार्यकर्ता अद्यावधिक हुनुपर्ने बताएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय भूमिकालाई प्रभावकारी बनाउन नीतिगत बहस आवश्यक रहेको धारणा राखे ।
प्रतिपक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न संसदीय प्रक्रिया र नीतिगत विषयमा प्रस्ट जानकारी हुनुपर्नेमा उनले जोड दिए । पार्टीका नेता तथा कार्यकर्ताहरू बौद्धिक र समसामयिक विषयमा अद्यावधिक भएमा मात्र सार्वजनिक सवालहरूलाई संसद्मा प्रभावकारी ढंगले उठाउन सकिने उनको भनाइ छ ।
उनले कार्यक्रममा उठेका विषय र प्राप्त सुझावहरू संसद्मा पुर्याइने जानकारी समेत दिए । यस्ता छलफलले पार्टी कार्यकर्ताहरूको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।







