काठमाडौंको नेपाल कला परिषद्मा हिमालयन आर्ट फेस्टिभल २०२६ को नवौं संस्करण चलिरहेको छ। गत शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा १५२ भन्दा बढी समकालीन नेपाली कलाकारका कलाकृतिहरू प्रदर्शनमा राखिएका छन्।
ई-आर्ट्स नेपालको आयोजनामा भइरहेको उक्त प्रदर्शनीमा चित्रकला, मूर्तिकला र पौभा चित्रकलादेखि विभिन्न शैलीका कलाहरू समेटिएका छन्। आयोजकका अनुसार यस प्रदर्शनीले नेपाली कला क्षेत्रमा संस्थागत तथा व्यावसायिक लगानी प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
साथै, नेपाली कलाका विविध अभ्यासहरू बुझ्न, अवलोकन गर्न र कलाकारहरूसँग प्रत्यक्ष रूपमा जोडिन यो प्रदर्शनी उपयुक्त मञ्च हुने आयोजकको भनाइ छ।
प्रदर्शनीको उपलक्ष्यमा नेपाली कला क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका वरिष्ठ कलाकार गोपाल वैद्यलाई ‘अनर टु द मेस्ट्रो’ सम्मान प्रदान गरिने भएको छ। प्रदर्शनीका क्रममा ‘आर्ट विथ पोयट्री’, रञ्जन लिपी कार्यशाला जस्ता कार्यक्रम पनि सञ्चालन हुनेछन्।
यो प्रदर्शनी आगामी ११ भदौसम्म चल्ने आयोजकले जनाएको छ। तस्वीरहरू : चन्द्र बहादुर आले।




