मुख्य सामग्रीमा जानुहोस्

मलेसियाले २५ म्यानपावर कम्पनी मात्र सूचीकृत गरेपछि श्रम मन्त्रालयको पत्राचार

२५ वटा म्यानपावर कम्पनीलाई मात्र सूचीकृत गरेपछि श्रम मन्त्रालयले मलेसियालाई पत्राचार गरेको छ। पत्रमा विद्यमान प्रणाली नै कायम राख्न वा नयाँ प्रणाली द्विपक्षीय वार्ताबाट टुङ्गो लगाउन आग्रह गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
मलेसियाले २५ म्यानपावर कम्पनी मात्र सूचीकृत गरेपछि श्रम मन्त्रालयको पत्राचार
Online Khabar

७ भदौ, काठमाडौँ । मलेसियाले नेपालबाट श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र सूचीकृत गरेको विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया सरकारलाई पत्राचार गरेको छ। सो पत्र परराष्ट्र मन्त्रालयमार्फत पठाइएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए।

नेपालमा सयौं म्यानपावर कम्पनीले इजाजत लिएर काम गरिरहेका छन्। तर मलेसियाले २५ वटा कम्पनीलाई मात्र सूचीकृत गरेपछि ती बाहेकका व्यवसायीहरूले विरोध जनाएका थिए। सीमित कम्पनीलाई मात्र अनुमति दिँदा व्यवसायमा एकाधिकार अर्थात् सिन्डिकेट लादिएको उनीहरूको भनाइ छ। व्यवसायीकै विरोधपछि मन्त्रालयले कूटनीतिक पहल थालेको हो।

पत्रमा विद्यमान प्रणालीलाई नै निरन्तरता दिने वा नयाँ प्रणाली लागू गर्ने भए द्विपक्षीय वार्ता र संवादबाट समाधान गर्न मलेसिया सरकारलाई आग्रह गरिएको छ। नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता तथा संयुक्त प्राविधिक समितिको बैठकमार्फत यस्ता विषयमा छलफल हुनुपर्ने प्रवक्ता घिमिरेले बताए।

मन्त्रालयले सुधार र पारदर्शिताका लागि आफू सकारात्मक रहेको, तर सिन्डिकेटको पक्षमा नरहेको स्पष्ट पारेको छ। हाललाई पुरानै संयन्त्रबाट कामदार पठाउने वातावरण मिलाउन र कुनै नयाँ परिवर्तन गर्दा आपसी समझदारीमा मात्र अघि बढ्न पनि मन्त्रालयले जोड दिएको छ।