काठमाडौंको उत्तरी भेग कपनमा रहेको टाटा सर्भिस सेन्टर अहिले सो क्षेत्रका टाटा ग्राहकका लागि आकर्षणको केन्द्र बनेको छ। नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सञ्चालन गरेको यो सेन्टरमा दैनिक पेट्रोल/डिजेल इन्जिनका गाडीदेखि विद्युतीय गाडी (ईभी) सम्मका सेवा लिने ग्राहकको निरन्तर भिड लाग्ने गरेको छ।
सेन्टरको कस्टमर लाउन्जमा बसेर ग्राहकले आफ्नो गाडीको सर्भिसिङ प्रत्यक्ष रूपमा हेर्न पाउँछन्। आँखै अगाडि मर्मत भइरहेको देख्दा ग्राहकहरू सन्तुष्ट देखिने सिप्रदी ट्रेडिङका टेक्निकल म्यानेजर–ईभी दिग्विजय आचार्य बताउँछन्। उनका अनुसार यो सेन्टर सञ्चालनमा आएको तीन वर्ष पूरा भइसकेको छ र उत्तरी काठमाडौंका ग्राहकलाई गुणस्तरीय सेवा दिन सकिएकोमा कम्पनी उत्साहित छ।
सेवा–सुविधा
सेन्टरमा सहज पहुँचका लागि टोल फ्री नम्बर उपलब्ध गराइएको छ, जसबाट ग्राहकले बुकिङदेखि अन्य सुविधा लिन सक्छन्। गाडी किनेर चलाउन थालेपछि एएमसी सुविधा दिइएको छ, जुन बीएस–४ र बीएस–६ पेट्रोल/डिजेल गाडीका साथै ईभीका लागि पनि उपयुक्त मानिएको छ। बाटोमा गाडी बिग्रिएर रोकिएमा प्रयोग गर्न सकिने चौबिसै घण्टाको रोडसाइड एसिस्टेन्स सेवा पनि उपलब्ध छ।
काठमाडौं उपत्यकाका ग्राहकका लागि कम्पनीले पिक–अप एन्ड ड्रप सुविधा दिइरहेको छ। ग्राहककै ठाउँबाट गाडी ल्याएर सर्भिस गरेपछि फेरि सोही स्थानमा पुर्याउने व्यवस्था गरिएको हो। त्यस्तै, दुर्घटनापछि मर्मतको झन्झट कम गर्न बिमा कम्पनीहरूसँगको सहकार्यमा क्यासलेस बिमा सेवा पनि उपलब्ध गराइएको आचार्यले जानकारी दिए।
ग्राहकका गुनासो र सुझावलाई सेन्टरले वर्कसप भिजिट तालिका बनाएर, प्राविधिक परीक्षण गरी समस्याको जरोसम्म पुगेर समाधान गर्ने लक्ष्य राखेको छ। गम्भीर गुनासो आए ३० मिनेटभित्र सम्बोधन गर्न र २४ घण्टाभित्र समस्या समाधान गर्ने उद्देश्य रहेको आचार्यको भनाइ छ। सर्भिस गरिएका सबै गाडीका लागि ७२ घण्टाभित्र पोस्ट सर्भिस फिडब्याक संकलन गरी हरेक हप्ता समीक्षा गर्ने गरिएको छ।
ग्राहक सन्तुष्टि र क्षमता
कम्पनीले ग्राहक सन्तुष्टि मापनका लागि गर्दै आएको सर्वेक्षणमा करिब ९८ प्रतिशत ग्राहक सन्तुष्ट देखिएका छन्। सेन्टरमा नियमित रिपेयर र मेन्टिनेन्स, ह्विल एलाइनमेन्ट, टायर ब्यालेन्सिङ, हेडलाइट लेभलिङ र बडी रिपेयरजस्ता सेवा एउटै छानामुनि उपलब्ध छन्।
यहाँ सौर्य ऊर्जाबाट चल्ने चार्जर राखिएको छ, जसले ‘ग्रिनिङ द ग्रिन’ भन्ने सन्देश दिन्छ। सेन्टरमा १२ वटा बे रहेकाले एकैपटक १२ युनिट गाडी सर्भिस गर्न सकिन्छ। यहाँ १४–१५ जना प्राविधिक कार्यरत छन् र दैनिक ३० देखि ३५ युनिट गाडी नियमित मर्मत तथा सर्भिस हुने गरेको छ।
ईभी मर्मत लागत र चार्जिङ
आचार्यका अनुसार पेट्रोल/डिजेल गाडीको तुलनामा ईभीको मर्मत लागत आधाभन्दा कम हुन्छ। ईभीमा मुख्य खर्च चार्जिङकै हुने भएकाले घरमै पनि चार्ज गर्न सकिने उनको भनाइ छ। ईभीको मोडेलअनुसार ३ सयदेखि ५ सय किलोमिटरको रेन्जमा चार्ज हुने गर्छ, जुन सातामा एक वा दुई पटक चार्ज गर्नुपर्ने हुन सक्छ।
ईभीका लागि दुई किसिमको मर्मत तालिका बनाइएको छ। एक प्रकारका गाडीलाई ५ हजार किलोमिटर वा ६ महिनाको इन्टरभलमा सर्भिस गर्नुपर्ने व्यवस्था छ भने अर्कोलाई साढे ७ हजार किलोमिटर वा ६ महिनाको इन्टरभल तोकिएको छ।
सिप्रदीले हालसम्म देशभर करिब ४० फास्ट चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ, जसमध्ये २८ अनलाइन र १२ अफलाइन चार्जर छन्। तीबाहेक सबै चार्जिङ स्टेसन जोड्दा करिब १ सय ५० वटा सञ्चालनमा रहेको बताइएको छ। काठमाडौं उपत्यकाभित्र ४ वटा अनलाइन र १० वटा अफलाइन चार्जर छन् भने बाँकी उपत्यकाबाहिर छन्। ठाउँ–ठाउँमा एसी फास्ट चार्जर पनि राखिएकाले ग्राहकले निश्चित दूरीमा क्विक टप–अप गर्न सक्ने आचार्यले बताए।
दक्ष जनशक्तिको चुनौती
बिक्रीपछिको सेवा, गुणस्तर र ग्राहक सन्तुष्टिबीचको चुनौतीलाई आचार्य स्वाभाविक मान्छन्। टाटा मोटर्सका उत्पादन ल्याइने भएकाले गुणस्तरीय सेवा निरन्तर दिन दक्ष र तालिमप्राप्त जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ। बजारमा त्यस्ता जनशक्ति पाउन कठिन रहेको र पाइहाले पनि कम्पनीमा टिकाइराख्न चुनौती रहेको उनले बताए। त्यसका लागि कम्पनीले तालिम केन्द्र र ओन–द–जब ट्रेनिङ कार्यक्रममार्फत जनशक्ति तयार गर्दै आएको छ।







