मुख्य सामग्रीमा जानुहोस्

जापानिज इन्सेफलाइटिस : २५ जिल्लामा ८० सङ्क्रमित, २१ जनाको मृत्यु

लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसको सङ्क्रमण देशका २५ जिल्लामा फैलिएको छ । महाशाखाका अनुसार ८० जनामा सङ्क्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
जापानिज इन्सेफलाइटिस : २५ जिल्लामा ८० सङ्क्रमित, २१ जनाको मृत्यु
Nagariknetwork

परिवार कल्याण महाशाखाले जापानिज इन्सेफलाइटिस (जेइ) को सङ्क्रमण तथा मृत्युदर बढ्दै गएकाले सबैलाई सतर्क रहन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगका कारण देशका २५ जिल्लामा हालसम्म ८० जना प्रयोगशालामा पुष्टि भएका सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको महाशाखाले आइतबार जारी गरेको विज्ञप्तिमा सङ्क्रमितमध्ये ८६ प्रतिशतले जेइविरुद्धको खोप नलगाएको उल्लेख छ । यस्तै, सङ्क्रमितमध्ये २१ जनाको मृत्यु भएको र मृत्यु हुने सबैले समेत खोप नलगाएको पाइएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित झापामा छन् — १० जना । कैलाली र मोरङमा सात/सात, सप्तरी र कञ्चनपुरमा छ/छ तथा चितवन, सुनसरी र नवलपरासीपूर्वमा पाँच/पाँच जनामा रोग पुष्टि भएको छ । यद्यपि तराई र भित्री मधेसका जिल्लामा बढी सङ्क्रमण देखिए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली र सुर्खेतलगायत पहाडी जिल्लामा पनि जेइका बिरामी भेटिएका छन् ।

जेइ सङ्क्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ । धानखेत र सुँगुरपालन हुने ठाउँमा बस्ने मानिसमा यसको सङ्क्रमण बढी देखिने विभागले जनाएको छ । सङ्क्रमित जनावर — सुँगुर, बङ्गुर वा हाँस — लाई टोकेको लामखुट्टेले मानिसलाई पनि टोकेमा भाइरस सर्न सक्छ ।

सङ्क्रमितमध्ये प्रत्येक तीन जनामा एक जनाको मृत्यु हुने र एक जनामा दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्या देखिने तथ्याङ्क महाशाखाले सार्वजनिक गरेको छ । उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तनजस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय नबिताइ तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउन पनि भनिएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार ८० सङ्क्रमितमध्ये ५१ जना, अर्थात् ६४ प्रतिशत, १५ वर्षभन्दा माथिका छन् । जेइका कारण मृत्यु हुनेमध्ये ५० वर्षमाथिकाको हिस्सा ८१ प्रतिशत रहेको छ । यस वर्ष पुष्टि भएका बिरामीमध्ये पुरुष ४३ र महिला ३७ जना छन् ।

यो रोगबाट बच्न जेइ खोप लगाउनु नै प्रभावकारी उपाय भएको विभागको भनाइ छ । सरकारले १२ महिनाको उमेरका बालबालिकालाई जेइ खोप दिँदै आएको छ । खोप छुटेकालाई पाँच वर्षको उमेरसम्म लगाउन सकिने व्यवस्था छ । लामखुट्टेको टोकाइबाट बच्नु पनि उत्तिकै आवश्यक रहेको विभागले जनाएको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जेइबाट बच्न खोप अनिवार्य रहेको बताउँदै खोप छुटाउनेहरूलाई सकेसम्म चाँडो खोप लगाउन आग्रह गरेका छन् ।