गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो फोहोर फाल्ने स्थल डार एस सलाममा आइतबार बिहान फोहोरको थुप्रो भासिएर ३० जनाको मृत्यु भएको छ । केन्द्र सरकारका अधिकारीहरूले यो जानकारी दिएका हुन् ।
राति करिब २ बजेदेखि सुरु भएको भारी वर्षाका कारण उक्त ल्यान्डफिलको फोहोर बगेर थुप्रो भासिएको र त्यसले नजिकैका झुप्राहरू पुरेको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् भने धेरै घर ध्वस्त भएका छन् । घटनापछि जीवित बाँचेकाहरूको खोजी गर्न उद्धार कार्य जारी छ ।
कोनाक्रीकै सबैभन्दा ठूलो खुला फोहोर फाल्ने स्थलका रूपमा रहेको डार एस सलामलाई आइतबार नै बन्द गर्ने तयारी थियो । सैन्य इन्जिनियरिङ बटालियनका सरसफाइ अधिकारी लेफ्टिनेन्ट कर्नल बाल्डे ममादु बैलोका अनुसार सोही दिन उक्त स्थल बन्द गर्ने कार्यक्रम थियो ।
स्थानीय बासिन्दालाई क्षेत्र खाली गर्न पहिले नै सूचना दिइएको थियो । अधिकारीहरूका अनुसार त्यसका कारण धेरै मानिसले क्षेत्र छाडिसकेका थिए, तर दुर्घटनाका बेला अझै धेरै मानिस त्यहाँ बसिरहेका थिए ।
घटनास्थल पुगेकी प्रादेशिक प्रशासन तथा विकेन्द्रीकरण मन्त्री दियेनाबु टुरेले भनिन्,
बाँकी रहेका परिवारलाई अन्यत्र स्थानान्तरण गर्ने व्यवस्था हामी गर्छौं ।
गिनी खनिज सम्पन्न देश हो । विश्वकै सबैभन्दा ठूलो बक्साइट निक्षेप रहेको यहाँ फलाम अयस्क, सुन, हिरा र अन्य खनिज पनि भेटिन्छन् । विश्व बैंकका अनुसार भने देशको ४३.७ प्रतिशत जनसंख्या राष्ट्रिय गरिबी रेखामुनि छ ।







