भारत सरकारको पुनर्निर्माण अनुदानबाट ललितपुरको पाटनस्थित श्रीकुमारी छें र न्यु कुमारी निवासको जीर्णोद्धार भएको छ। करिब रु पाँच करोडको लागतमा पुनर्निर्माण गरिएका ती सम्पदा स्थलको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरियो।
उद्घाटन समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, सांसद जगदीश खरेल र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
ती संरचनाहरू भारत सरकारको भूकम्पोत्तर पुनर्निर्माण अनुदानमार्फत निर्माण गरिएका हुन्। सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले परियोजना कार्यान्वयन गरेको थियो। भारतीय राष्ट्रिय कला तथा सांस्कृतिक सम्पदा ट्रस्ट (इन्टाक) ले डिजाइन र आयोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद खरेलले जीवित सम्पदा स्थलको संरक्षण आवश्यक रहेको बताए। उनले यस पुनर्निर्माण परियोजनाका लागि भारत सरकारको सहयोगको प्रशंसा पनि गरे।
मेयर महर्जनले ललितपुर तथा नेपालका अन्य भागका सांस्कृतिक सम्पदाको पुनर्निर्माण र जीर्णोद्धारमा भारतको योगदानको कदर गरे। साथै उनले स्थानीय समुदायको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध लामो समयदेखि रहँदै आएको उल्लेख गरे। पुनर्निर्मित ऐतिहासिक स्मारकहरूले दुई देशबीचको साझा सम्पदा र मैत्रीलाई प्रतिनिधित्व गर्ने उनको भनाइ थियो।
भारतीय राजदूतावासका अनुसार भारत सरकारले भूकम्पोत्तर पुनर्निर्माण सहायतामार्फत आठ जिल्लाका ३० सांस्कृतिक सम्पदा स्थलको संरक्षणमा सहयोग गरेको छ। यस्तै, गोरखा र नुवाकोटका ५० हजार निजी आवास, आठ जिल्लाका ८५ शैक्षिक संस्था र ११ जिल्लाका १३३ स्वास्थ्य संस्थाको पुनर्निर्माणमा समेत भारतले सहयोग पुर्याएको छ।







