उदयपुर जिल्ला अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईले कार्यभार सम्हालेको एक साताभित्र तीन अनुबन्धित चिकित्सकले राजीनामा दिएका छन्। अस्पताल प्रशासनले उनीहरूको राजीनामा स्वीकृत गरिसकेको जनाएको छ।
राजीनामा दिने चिकित्सकमा मनिष यादव, देविका चौधरी र पुरुषोत्तम यादव छन्। अस्पताल विकास समितिमार्फत करारमा कार्यरत आठौं तहका यी तीनै चिकित्सकले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको प्रशासनको भनाइ छ।
५० शय्याको उक्त अस्पतालको प्रमुख पद केही समयदेखि रिक्त रहँदा यो कामचलाउ प्रमुखकै भरमा सञ्चालन भइरहेको थियो। अस्पताल सुधारको जिम्मेवारीसहित स्वास्थ्य मन्त्रालयले डा. राईलाई त्यहाँ पठाएको थियो। कार्यभार सम्हाल्नासाथ उनले डाक्टर र कर्मचारीको संयुक्त बैठक बोलाएर अस्पताल सुधारलाई प्राथमिकता दिने बताएका थिए। उनले सबैलाई सामूहिक जिम्मेवारी लिन आग्रह पनि गरेका थिए।
राजीनामाको कारणबारे भने फरक चर्चा छ। नाम नबताउने सर्तमा एक कर्मचारीले डा. राईले ड्युटी समयमा कर्मचारी उपलब्ध हुनुपर्ने र सोही समयमा निजी क्लिनिकमा काम गर्न नपाइने निर्देशन दिएपछि ती चिकित्सकले राजीनामा दिएको दाबी गरेका छन्। निजी क्लिनिकमा काम गर्ने प्रचलन अन्त्य गर्नु डा. राईका सुधार प्रस्तावमध्ये एक थियो।
डा. राईले आफूलाई अस्पताल सुधारकै लागि पठाइएको र तत्काल प्राथमिकता अस्पताललाई पुरानो अवस्थामा फर्काउनु रहेको बताएका छन्। आइपुग्दा प्रशासन र उपचार सेवा दुवै प्रभावित पाएकाले सुधारका लागि सामूहिक योजना बनाउन डाक्टर र कर्मचारीसँग छलफल गरेको उनको भनाइ छ। केही कर्मचारीबाट सहयोग सीमित भएको उनले स्वीकार गरे पनि सुधार योजना अगाडि बढाउने बताएका छन्।
विगत एक वर्षदेखि कामचलाउ प्रमुखकै भरमा सञ्चालन भएको यस अस्पतालमा औषधि अभाव, तलब भुक्तानीमा अनियमितता र सेवा अवरुद्ध हुने गरेको थियो। पछिल्लो समय अस्पतालको अवस्था खस्किएको पाइएको थियो।
हाल अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र दुई स्थायी चिकित्सकबाहेक विभिन्न व्यवस्थामा आबद्ध ११ विशेषज्ञ चिकित्सक कार्यरत छन्।







