उदयपुरको कटारी नगरपालिका–४ मा प्रहरीले टिपरबाट १९९ किलोग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय कटारीको संयुक्त टोलीले सोमबार बिहान करिब १ः४५ बजे मारुवा खोला नजिकबाट न ७ ख ८१७३ नम्बरको टिपरलाई रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा बेतिनीबाट कटारीतर्फ आउँदै गरेको उक्त टिपरमा छ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा भेटिएको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल १९९ किलोग्राम रहेको बताइएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले टिपर चालक २१ वर्षीय सोम मगरलाई पक्राउ गरेको छ। रूपन्देहीको देवदहा नगरपालिका–७ घर भई हाल कटारी नगरपालिका–४ मा बस्दै आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले टिपर चालक, गाँजा र टिपरलाई इलाका प्रहरी कार्यालय कटारीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







