नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वदेशी अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन कर, कर्जा र पूर्वाधारसम्बन्धी नीति कम्तीमा एक दशकसम्म स्थिर राख्नुपर्ने बताएका छन्। नागरिककर्मी मधुजंग पाण्डेसँगको कुराकानीमा उनले सरकारका नीति पूर्वानुमानयोग्य भए मात्र व्यवसायीले दीर्घकालीन लगानी गर्न सक्ने धारणा राखे।
लामो समयदेखि अटोमोबाइल र स्पेयर पार्ट्स व्यवसायमा सक्रिय उप्रेती १२ वर्षअघि कार्यसमिति सदस्यका रूपमा नाडामा प्रवेश गरेका थिए। दुई कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल महासचिव भइसकेका उनी २०८२ सालको मंसिरदेखि नाडाको अध्यक्ष छन्। एसटिसी ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका उनको समूहले सिएट टायर, एम्पायर स्कुटर, पिएलओ लुब्रिकेन्ट, राइड ब्याट्री तथा अन्य अटो स्पेयर पार्ट्सको व्यापार गर्दै आएको छ।
२०३२ सालमा स्थापित नाडा २०३४ सालमा दर्ता भएको थियो। स्थापनाको ५०औं वर्षका अवसरमा संस्थाले ९ देखि १४ भदौसम्म १८औं संस्करणको ‘नाडा अटो सो २०२६’ आयोजना गर्दैछ। ‘उद्योगदेखि रोजगारसम्म’ नारासहित हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। उप्रेतीका अनुसार यसपटक विद्युतीय सवारीसँगै नेपालमै एसेम्बल भएका सवारी, टायर, ब्याट्री, लुब्रिकेन्ट र स्पेयर पार्ट्सलाई प्राथमिकता दिइएको छ। दसैंअघि हुने यो प्रदर्शनीले व्यवसायीको बिक्रीमा आत्मविश्वास बढाउनुका साथै उपभोक्तालाई छनोट र सहुलियत दिने र राजस्व वृद्धिमा सघाउने उनले बताए। प्रदर्शनीले नेपाल सवारी आयातकर्ता मात्र नभई उत्पादन र एसेम्बलतर्फ अघि बढिरहेको सन्देश दिने उनको भनाइ छ।
बजार शिथिल, इभीतर्फ आकर्षण
पछिल्लो समय अटो बजार पूर्ण रूपमा उत्साहित नरहेको उप्रेतीले बताए। उपभोक्ताको क्रयशक्ति, बैंकिङ कर्जाको उपलब्धता, ब्याजदर र समग्र आर्थिक वातावरणले बजारलाई असर गरेको छ। तर, विश्वका नयाँ प्रविधि र मोडलका सवारी नेपाली बजारमा आइरहेकाले निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
विश्व अटोमोबाइल क्षेत्र नै विद्युतीय सवारीतर्फ उन्मुख भइरहेका बेला नेपाल पनि त्यसबाट अलग रहन नसकेको उनले बताए। नयाँ इभीका मोडल, डिजाइन र फिचरले उपभोक्ताको आकर्षण बढाएको छ। तैपनि पेट्रोलियम सवारीलाई एकैपटक विस्थापित गर्न सकिने अवस्था नरहेको भन्दै बजारले आफैं दिशा तय गर्ने उनको धारणा छ। उपभोक्ताले रोजेको प्रविधिका लागि आवश्यक पूर्वाधार र दीर्घकालीन नीति सरकारले सुनिश्चित गर्नुपर्ने उनले बताए।
कर, कर्जा र अवैध आयातका चुनौती
भारत र चीनको तुलनामा नेपालमा सवारी महँगो हुनुको कारण यहाँ ठूलो परिमाणमा एसेम्बल र उत्पादन गर्ने उद्योग नहुनु तथा कर संरचना रहेको उप्रेतीको भनाइ छ। कर घटाउने मात्र नभई कर नीति स्थिर, पूर्वानुमानयोग्य र दीर्घकालीन हुनुपर्ने उनको माग छ। अटो क्षेत्रलाई राजस्वको स्रोत मात्र नठानी रोजगारी, यातायात, पर्यटन, उद्योग र समग्र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्नेमा उनले जोड दिए।
अटो कर्जाको उच्च जोखिम भार र कडा डाउन पेमेन्ट सीमालाई उनले बजार विस्तारका मुख्य बाधाका रूपमा चिनाए। नेपाल राष्ट्र बैंकले व्यक्तिगत सवारी कर्जाको जोखिम भार १२५ देखि १५० प्रतिशतसम्म कायम राख्दा बैंकहरू अटो कर्जा दिन हिच्किचाउने उनले बताए। पेट्रोल तथा डिजेल सवारीमा ५० प्रतिशत र इभीमा ४० प्रतिशत अनिवार्य डाउन पेमेन्ट छ। यो सीमा घटाएर २० प्रतिशतभन्दा तल ल्याउन नाडाले माग गर्दै आएको छ। ६० लाखको गाडी किन्न ३० लाख नगद जुटाउनुपर्ने बाध्यताले उपभोक्ता चाहेर पनि खरिदमा जान नसक्ने उनको भनाइ छ। कर्जा स्वीकृतिमा आम्दानीको स्रोत, कर चुक्ता प्रमाणपत्र र भ्याट बिलजस्ता कागजातको कडाइले समेत सवारी खरिदमा समस्या पारेको उनले बताए।
त्यस्तै, खुला सिमाना हुँदै हुने अनधिकृत स्पेयर पार्ट्स र अवैध आयातले नियमित व्यवसायीलाई प्रतिस्पर्धामा दबाब परेको उनको भनाइ छ। भन्सार छलेर पार्ट्स भित्रिँदा राजस्वमा असर पर्ने र उपभोक्ताले गुणस्तरहीन सामान पाउने जोखिम रहने उनले बताए। नाडाले यस विषयमा सरकारसँग लबिङ, सरोकारवालासँग छलफल र जनचेतना अभिवृद्धिका काम गर्दै आएको छ।
पूर्वाधार र स्वदेशी उत्पादनको सम्भावना
इभी सवारीको बिक्रीका तुलनामा चार्जिङ स्टेसन अपर्याप्त रहेको उप्रेतीले स्वीकार गरे। हाल दुई हजारभन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन् र थप निर्माण भइरहेका छन्। आयातकर्ता र नेपाल विद्युत् प्राधिकरण मिलेर लामो दूरीका सडकमा नयाँ चार्जिङ स्टेसन बनाउने काम अघि बढिरहेको उनको भनाइ छ। चार्जिङ स्टेसनमा देखिएको भीडले इभीप्रतिको बढ्दो आकर्षणलाई संकेत गर्छ।
यातायात विभागको तथ्यांकअनुसार दुई पांग्रेदेखि ठूला सवारीसम्म गरी नेपालमा करिब ५० लाख सवारी दर्ता भएका छन्। भन्सार छलेर भित्रिएका सवारी यस तथ्यांकमा समेटिएका छैनन्। हालसम्म करिब ६३ हजार विद्युतीय सवारी नेपाल भित्रिएका छन्, जसमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आएका छन्।
नेपाल सधैं सवारी आयात गर्ने बजार बनिरहन नहुने उप्रेतीको भनाइ छ। अहिले केही सवारी एसेम्बल हुन थालेका छन् भने टायर, ब्याट्री, लुब्रिकेन्ट र स्पेयर पार्ट्समा पनि स्वदेशी उत्पादनको सम्भावना देखिएको छ। दीर्घकालीन स्थिर नीति र लगानीमैत्री वातावरण बने आगामी दिनमा नेपालमा अटोमोबाइल उत्पादनको ठूलो सम्भावना रहेको उनले बताए। स्वर्णजयन्ती विशेष अटो सोले नेपाली डिजाइन, इन्जिनियरिङ र अटोमोबाइल क्षेत्रको सम्भावना देखाउने उनको भनाइ छ।







