मुख्य सामग्रीमा जानुहोस्

नयाँ बानेश्वरमा महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, दुई कसुरमा अनुसन्धान

काठमाडौंको नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि एक युवकले हातपात गरेका छन्। घटनापछि प्रहरीले नै जनताबाट असुरक्षित रहेको गुनासो पोखेको छ। आरोपीविरुद्ध मुलुकी अपराध संहिता र सवारी तथा यातायात व्यवस्था…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
नयाँ बानेश्वरमा महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, दुई कसुरमा अनुसन्धान
Online Khabar

काठमाडौंको नयाँ बानेश्वर चोकमा मंगलबार दिउँसो ड्युटीमा खटिएकी एक महिला प्रहरीमाथि युवकले हातपात गरेको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ती युवक आक्रोशित भएर महिला प्रहरीमाथि आक्रमण गर्न खोजेको देखिन्छ। अर्का एक पुरुष प्रहरीले उनलाई रोक्न संघर्ष गरेको दृश्य पनि कैद भएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिँदा ८–१० जना प्रहरीले भ्यानसम्म पुर्‍याएको भिडियोमा देखिन्छ।

आक्रमण गर्ने युवकको पहिचान जुम्लाको तातोपानी गाउँपालिका–२ का २७ वर्षीय राज कठायत रहेको प्रहरीले बताएको छ। उनी काठमाडौंमा कर्णाली क्षेत्रको जडिबुटी कारोबारमा संलग्न रहेको जानकारी दिइएको छ। प्रहरीका अनुसार दिउँसो अत्यधिक सवारी चाप हुने समयमा ट्राफिक प्रहरीसँगै सामुदायिक प्रहरी पनि परिचालन हुन्छ। आकाशे पुल, जेब्रा क्रसिङजस्ता स्थानमा खटिएका सामुदायिक प्रहरीले पैदल यात्रीलाई सडक पार गराउन सहजीकरण गर्छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार घटनाका क्रममा सामुदायिक प्रहरीका रूपमा खटिएकी महिला प्रहरीले कठायतलाई आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। तर उनी आक्रोशित भएर प्रहरीमाथि नै आक्रमणमा उत्रिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर बानेश्वर प्रहरी वृत्तमा राखेको छ।

कठायतमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ६६(१) र सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३७ अनुसारको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिइएको प्रहरीले जनाएको छ। उनीमाथि पाँच दिनको हिरासत म्याद लिई अनुसन्धान अघि बढाइएको छ। दफा ६६ ले राष्ट्रसेवकको कर्तव्य पालनमा बाधा पुर्‍याउन नहुने व्यवस्था गरेको छ। सोही दफाअनुसार एक वर्ष कैद वा १० वर्ष जरिवाना वा दुवै सजाय हुन सक्ने छ। यस्तै, दफा १३७ मा पैदल यात्रीले तोकिएको ठाउँबाट मात्र सडक काट्नुपर्ने व्यवस्था छ।

घटनापछि आक्रमणमा परेकी महिला प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा गुनासो पोखेकी छन्। नेपालको कानुनको व्यवस्थाप्रति व्यंग्य गर्दै उनले जेनजीबाट थकित भइसकेको बताएकी छन्। उनले आफ्नो घडी चुडालिएको पनि देखाएकी छन्। अर्का एक प्रहरी जवानले जनताबाटै आफूहरू असुरक्षित रहेको र बर्दी लगाएर कुटाइ मात्रै खानुको औचित्य नरहेको गुनासो गरेका छन्।

पूर्व डीआईजीको विश्लेषण

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक हेमन्त मल्लले यो घटना भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि सिर्जना भएको अराजक मानसिकताको नतिजा भएको बताएका छन्। यो एक्लो घटना नभई प्रहरीमाथि आक्रमण हुने क्रम बढेको उनको भनाइ छ। सामाजिक सञ्जालमार्फत फैलिरहेको अराजक मानसिकताले यस्ता घटनालाई थप बढवा दिने उनले टिप्पणी गरे।

मल्लले प्रहरीको मनोबल बढाउन सत्तापक्ष, सरकार र विभागीय मन्त्रालय जिम्मेवार हुनुपर्ने बताए। तर सरकार, संसद् र समाज कोही पनि यसतर्फ गम्भीर नदेखिएको उनले बताए। आम नागरिकको सुरक्षाका लागि सरकारी निकायका रूपमा प्रहरी रहेको भन्दै उनले गृह मन्त्रालयको नेतृत्व संवेदनशील हुन नसकेको टिप्पणी गरे। 'पुलिसले लय लिन खोजेको छ तर गृहमन्त्रालयको नेतृत्व संवेदनशील देखिन्न,' उनले भने।

केही दिनअघि संसदीय समितिमा रास्वपा सांसद खगेन्द्र सुनारको प्रश्नले प्रहरी महानिरीक्षक दानबहादुर कार्की आक्रोशित भएका थिए। मल्लले यसलाई प्रहरीभित्र गुम्सिएको भडासको अभिव्यक्ति भनेका छन्। प्रहरीलाई यसरी तनावमा राख्दा राज्यलाई नै असर पर्ने भन्दै उनले सरकारको ध्यान जानुपर्ने बताएका छन्।