मुख्य सामग्रीमा जानुहोस्

स्वकीय सचिव नियुक्ति : हालसम्म १७३ सांसदले मात्र गरे, १४२ जनाको बाँकी

संघीय संसद्का सांसदहरूले स्वकीय सचिव नियुक्तिको सुविधा फिर्ता पाएको करिब एक महिना पुग्दा १७३ जनाले मात्र नियुक्ति गरेका छन् । पदाधिकारीसहित १४२ जनाको नियुक्ति भने बाँकी नै छ ।

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
स्वकीय सचिव नियुक्ति : हालसम्म १७३ सांसदले मात्र गरे, १४२ जनाको बाँकी
Online Khabar

संघीय संसद्का सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न पाउने व्यवस्था फिर्ता आएको एक महिना बितिसक्दा पनि नियुक्ति प्रक्रिया अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । संसद् सचिवालयको विवरणअनुसार ९ भदौसम्म कूल ३३४ सांसदमध्ये १७३ जनाले मात्र स्वकीय सचिव नियुक्त गरेका छन् । पदाधिकारीसहित १४२ जनाको नियुक्ति हुन बाँकी छ ।

प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ सदस्य रहेको संघीय संसद्मा स्वकीय सचिवको व्यवस्था गत असार ३० को मन्त्रिपरिषद् बैठकले ब्युँताएको हो । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याउँदै सांसदहरूलाई शाखा अधिकृत स्तरको सेवासुविधा दिने गरी स्वकीय राख्ने बाटो खोलिएको थियो । साउन ४ मा नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि भोलिपल्टै संसद् सचिवालयले नियुक्तिका लागि आह्वान गर्दै सूचना जारी गरेको थियो ।

सचिवालयका अनुसार नियुक्ति गर्नेमध्ये संसद् सचिवालयका पदाधिकारी पनि समेटिएका छन्, तर मन्त्रिपरिषद्का १७ सदस्यको संख्या यसमा समावेश छैन । राष्ट्रिय सभामा दुई सिट रिक्त रहँदा स्वकीय राख्न बाँकी सांसद र पदाधिकारी गरी १४२ जना छन् ।

पदाधिकारीदेखि समिति सभापतिसम्म

पारिश्रमिक र सुविधासम्बन्धी ऐनले पदाधिकारीको परिभाषा गरेको छ । त्यसमा सभामुख डोलप्रसाद अर्याल, उपसभामुख रुवी ठाकुर, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष लिलाकुमारी भण्डारी पर्छन् । विपक्षी दलका नेता भीष्मराज आङदेम्बे, सत्तापक्षका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र विपक्षी दलका प्रमुख सचेतक वासना थापा पनि पदाधिकारी हुन् । यसैगरी एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, सत्तापक्षका सचेतक प्रकाशचन्द्र परियार र विपक्षी दलका सचेतक निश्कल राई यही सूचीमा छन् ।

संघीय संसद्अन्तर्गतका १६ वटै विषयगत समितिका सभापतिलाई पनि पदाधिकारी मानिन्छ । तीमध्ये कतिपय पदाधिकारीको समेत स्वकीय नियुक्ति हुन बाँकी छ ।

दलहरूको आ–आफ्नै मापदण्ड

स्वकीय नियुक्तिमा भइरहेको ढिलाइबारे रास्वपा सचेतक क्रान्तिशिखा धितालले दुई कारण देखाएकी छिन् । पहिलो, पार्टीले मेरिटोक्रेसीको आधारमा स्वकीय सचिव ल्याउने प्रक्रिया तय गरेको छ, जसअनुसार नचिनेका व्यक्तिसमेत आउन सक्ने भएकाले उनीहरूलाई १५/२० दिन इन्टर्नमा राखेर काम हेर्ने तयारी छ । दोस्रो, नजिकका नातेदार नराख्ने मापदण्ड बनाइएको छ र यो कति सम्भव हुन्छ भनेर हेरिरहेका छन् ।

रास्वपाले ८ साउनमा महामन्त्री विपिनकुमार आचार्यको निर्देशनमार्फत स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन नै जारी गरेको थियो । सो निर्देशनमा नातावाद र परिवारवादको परिधिभन्दा बाहिर रहेर प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्य–मान्यताप्रति निष्ठावान व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । छनोट प्रतिस्पर्धात्मक बनाउने, दोहोरो सुविधा तथा स्वार्थ बाझिने उम्मेदवारलाई मुक्त राख्ने र नियुक्तिअघि संसदीय दलको स्वीकृति लिन अनिवार्य गरिएको छ ।

प्रतिनिधिसभामा रास्वपाका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् भने एक जना स्वतन्त्र सांसदका रूपमा महावीर पुन रहेका छन् ।

कांग्रेसले पनि आफ्नै कार्यविधि बनाएको छ । प्रमुख सचेतक वासना थापाका अनुसार पहिल्यै रहेका व्यक्ति मापदण्ड पूरा गरे आफ्नै ठाउँमा रहन पाउने र कतिपय सांसदका लागि पार्टीले सहजीकरण गरिदिएको छ । कांग्रेस संसदीय दलले ‘स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि, २०८३’ लागु गरेको छ, जसमा कानुन, राजनीति, अर्थशास्त्र, सार्वजनिक प्रशासन, पत्रकारिता, सूचना प्रविधि, आमसञ्चार, कृषि, इन्जिनियरिङ, स्वास्थ्य र व्यवस्थापनलगायत विषयमा अध्ययन गरेकालाई प्राथमिकता दिइएको छ । कार्यविधिले आचारसंहिता, नियमित कार्यसम्पादन मूल्यांकन, कम्तीमा स्नातक उत्तीर्ण र उमेर २१ वर्ष पुगेको हुनुपर्ने मापदण्ड तोकेको छ ।

एमालेका अधिकांश सांसदले नियुक्ति गरिसकेका छन् । प्रमुख सचेतक ऐनबहादुर महरले ५/७ जनाको मात्र नियुक्ति बाँकी रहेको बताए । उनका अनुसार कार्यकर्ताको चाहना र निर्वाचन क्षेत्र मिलाउनुपर्दा केही सांसदको नियुक्ति प्रक्रियामा छन् । नेकपाका प्रमुख सचेतक युवराज दुलाल भने नियुक्तिको काम लगभग सकिन लागेको बताउँछन् ।

सचिवालयको प्रक्रिया के छ ?

संसद् सचिवालयले सांसदका स्वकीय सचिवका लागि प्रचलित कानुनबमोजिम नेपाल सरकारको सम्बन्धित तहको कर्मचारीका लागि तोकिएको न्यूनतम योग्यता चाहिने जनाएको छ । राजपत्रमा प्रकाशित सूचनामा स्वकीय सचिव राजपत्रांकित तृतीय श्रेणीको हुने उल्लेख छ, जुन शाखा अधिकृत वा सो सरहको पद हो । यसका लागि लोकसेवा आयोगले तोकेबमोजिम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ ।

नियुक्ति भएपछि सांसदहरूले संसद् सचिवालयको तोकिएको फारम भरेर महासचिवलाई सम्बोधन गर्नुपर्छ । सो फारममा स्वकीय सचिवको नाम, थर, जन्ममिति, लैंगिकता, नागरिकता विवरण, प्रदेश, स्थानीय तह, अस्थायी ठेगाना, शैक्षिक योग्यता, नियुक्त पद, बैंकको नाम र खाता नम्बर, स्थायी लेखा नम्बर, मोबाइल नम्बर र वैवाहिक स्थितिजस्ता जानकारी माग गरिएको छ । स्वकीय सचिव परिवर्तन वा हटाउनुपरेमा सोही फारममा विवरण अद्यावधिक गर्न सकिने व्यवस्था पनि छ ।