मुख्य सामग्रीमा जानुहोस्

प्याजको भाउ प्रतिकिलो एक सय रुपैयाँ, चाडपर्वअघि अझै महँगिने आकलन

भान्साको अत्यावश्यक सामग्री प्याजको मूल्य काठमाडौंको खुद्रा बजारमा किलोकै एक सय रुपैयाँ पुगेको छ । कालीमाटीको तथ्यांकले एक वर्षमा प्याज ६५ प्रतिशतले महँगिएको देखाएको छ । भारतमै अभाव र मूल्यवृद्धि भएकाले नेपाली बजारमा…

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
प्याजको भाउ प्रतिकिलो एक सय रुपैयाँ, चाडपर्वअघि अझै महँगिने आकलन
Online Khabar

उपभोक्ताको दैनिक भान्सामा प्रयोग हुने प्याजको मूल्य काठमाडौंको खुद्रा बजारमा प्रतिकिलो एक सय रुपैयाँ पुगेको छ । नयाँ बानेश्वर, बुद्धनगरलगायत क्षेत्रका तरकारी पसलमा सुकेको प्याज ९० देखि १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । थोक बजारमै प्याज महँगिएपछि त्यसको सिधा असर उपभोक्ताको खल्तीमा परेको हो ।

नयाँ बानेश्वरकी चटपटे व्यवसायी पार्वती थापाले दैनिक कम्तीमा एक किलो प्याज प्रयोग गर्ने गरेको बताउँछिन् । प्याजको मूल्य निरन्तर बढेपछि उनले चटपट र पानीपुरीमा प्याजको मात्रा घटाउन बाध्य भएकी छन् । यसअघि ६०–७० रुपैयाँमा किन्दै आएको प्याज एकैपटक एक सय रुपैयाँ पुग्दा व्यापार साँच्न मुस्किल परेको उनको गुनासो छ । ग्राहकले प्याज कम हालेको खाना मीठो नहुने भनेर चित्त नबुझाएपछि झन् समस्या भएको उनले सुनाइन् ।

बुद्धनगरकी गृहिणी लक्ष्मी श्रेष्ठ पनि प्याजको मूल्य बढेपछि भान्सामा यसको प्रयोग घटाउन बाध्य भएकी छन् । परिवारमा प्याजको अचार मन पराउने उनले मासु पकाउँदा बाहेक अन्य तरकारीमा प्याज नहाल्न थालेको बताइन् । चाडपर्वको मुखैमा हरेक खाद्यवस्तुको मूल्य बढिरहँदा भान्सा कसरी चलाउने भन्ने चिन्ता आफूलाई सताउने गरेको उनको भनाइ छ ।

एक महिनामै ४० प्रतिशत मूल्यवृद्धि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो एक महिनामा प्याजको थोक मूल्य अस्वाभाविक रूपमा बढेको छ । असारको अन्तिम साता कालीमाटीमा प्याजको औसत थोक मूल्य ५४ रुपैयाँ थियो । साउन ७ मा यो औसत ५५ रुपैयाँ कायम भयो । साउन ३१ मा औसत मूल्य ६२ रुपैयाँ पुगेको थियो भने भदौ ७ मा पुग्दा ७७ रुपैयाँ (न्यूनतम ७५, अधिकतम ८०) पुगेको छ ।

साउन ७ को औसत मूल्य ५५ रुपैयाँ र भदौ ७ को औसत मूल्य ७७ रुपैयाँ तुलना गर्दा एक महिनामै प्रतिकिलो २२ रुपैयाँ बढेको छ । प्रतिशतका हिसाबमा यो ४० प्रतिशतको वृद्धि हो । गत वर्ष साउनमा थोक मूल्य ४५ देखि ४८ रुपैयाँसम्म थियो । गत वर्षको औसत ४६ रुपैयाँसँग तुलना गर्दा एक वर्षमा प्याज ३१ रुपैयाँले महँगिएको छ, जुन ६५ प्रतिशतको भारी मूल्यवृद्धि हो ।

थोक बजारको मूल्यवृद्धिले खुद्रा बजार पनि प्रभावित भएको छ । बुद्धनगरदेखि नयाँ बानेश्वरसम्मका १० तरकारी पसलमा गरिएको सोधपुछमा तीन पसलमा प्याज ९० रुपैयाँ र सात पसलमा एक सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको पाइयो । बिगमार्टलगायत केही मार्टले पनि प्रतिकिलो ९९ रुपैयाँसम्म मूल्य तोकेका छन् ।

नयाँ बानेश्वरका एक तरकारी व्यापारी होलसेल बजारमै महँगोमा किन्नुपरेकाले खुद्रा मूल्य घटाउन नसकिने बताउँछन् । उनका अनुसार कालीमाटीमै एक किलो प्याज ८० रुपैयाँ तिरेर किन्नुपर्दा खुद्रा बेच्दा ५–१० रुपैयाँ थप महँगो पर्ने नै भयो । होलसेल व्यापारीले प्याजको भाउ अझै बढ्ने र दसैंसम्म प्रतिकिलो १५० रुपैयाँभन्दा माथि पुग्ने आकलन गरेको उनले सुनाए ।

भारतीय बजारको असर र आयात

नेपाल प्याजमा करिब ९८ प्रतिशत भारतमै निर्भर छ । भारतीय बजारमा प्याजको मूल्यवृद्धि र अभाव भएपछि नेपाली बजारमा त्यसको प्रत्यक्ष असर परेको आलु–प्याज व्यवसायी संघ महासचिव प्रकाश गजुरेलले बताए । उनका अनुसार भारतमै प्याज उत्पादन कम भएको र माग बढेको छ । भारतबाट ल्याएर नेपाल पुर्याउँदासम्म प्रतिकिलो ७५ रुपैयाँभन्दा बढी ल्यान्डिङ कस्ट पर्न थालिसकेको छ ।

भारत सरकारले निर्यातमा प्रत्यक्ष प्रतिबन्ध लगाएको छैन, तर आपूर्ति भने पहिलेजस्तो सहज छैन । महासचिव गजुरेलले यसलाई अप्रत्यक्ष कडाइको रूपमा बुझ्नुपर्ने बताए । विगतमा जस्तै नेपालसँगको सम्बन्ध बिग्रिएका बेला वा आन्तरिक अभाव भएका बेला भारतले प्रतिबन्ध लगाउन सक्ने उनको आशंका छ । बजारमा प्याजको अभाव नहोस् र मूल्य सन्तुलनमा रहोस् भन्दै व्यवसायीले सरकारलाई जीटुजी (सरकार–सरकारबीच) च्यानलबाट आपूर्ति व्यवस्थापन गर्न सुझाव दिएका छन् । यस विषयमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँग छलफल भइसकेको जानकारी पनि उनले दिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतका प्रमुख सहर नयाँदिल्ली, मुम्बई र कोलकातामा प्याजको खुद्रा मूल्य प्रतिकिलो ५० देखि ६० भारु (८० देखि ९६ रुपैयाँ) पुगेको छ । उडिसाको भुवनेश्वरमा दुई दिनमै प्याजको मूल्य झन्डै दोब्बर भएको उल्लेख छ । आपूर्तिमा सुस्तता, खराब मौसम र चाडपर्वको बढ्दो मागलाई भारतमा प्याज महँगिनुको मुख्य कारण मानिएको छ । अवस्था नियन्त्रणबाहिर जान थालेपछि भारत सरकारले बफर स्टकबाट सहुलियत दरमा प्याज खुद्रा बजारमा पुर्‍याउने योजना बनाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले भने चाडपर्व आउने बित्तिकै व्यापारीले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने गरेको आरोप लगाए । छोटो समयमै प्याजको मूल्य ४० प्रतिशत बढ्नु निकै ठूलो वृद्धि भएको उनले बताए । बजार नियन्त्रण र अनुगमनमा स्थानीय तथा संघीय दुवै सरकार चुकेको उनको भनाइ छ ।

कालीमाटी बजारमा हाल भारतबाट मात्र सुकेको प्याज भित्रिने गरेको छ । समितिको तथ्यांकअनुसार हालै एकै दिनमा १ लाख ३३ हजार ९ सय किलो प्याज भित्रिएको थियो । यसैबीच, चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्र १ करोड ७५ लाख १८ हजार ५ सय ६९ किलो प्याज आयात भएको छ । यो परिमाण १७ हजार ५ सय १८ टन बराबर हो । सबै भारतबाट आयात भएको उक्त प्याजको कुल मूल्य ७१ करोड ८३ लाख ७ हजार रुपैयाँ छ भने सरकारले भन्सारबापत ६ करोड ४६ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।