ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मंगलबार साँझ विद्युत् सर्टका कारण आगलागी हुँदा दुई घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
स्थानीय कोटमाया कार्कीको ढुङ्गा–माटोको गारो र खरको छाना भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएबाट आगो सल्किएको थियो । आगो फैलँदै उनकै बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए ।
आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।
कोटमाया कार्कीको घरमा रहेको अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ । त्यसबाट करिब १२ लाख रुपैयाँको क्षति भएको जनाइएको छ ।
त्यस्तै, ज्ञानकुमारी कार्कीको घरसँगै रहेका अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र ५० हजार रुपैयाँ नगद जलेर नष्ट हुँदा करिब १४ लाख रुपैयाँ क्षति भएको प्रहरीले बताएको छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।







