इन्टर्न चिकित्सकको निर्वाह भत्ता वृद्धिको माग राखेर पुनः अनसनमा बसेका डिल्ली हरिजनसँग सरकारले तीन बुँदे सहमति गरेको छ । यो समझदारीसँगै उनले पाँच दिनदेखि जारी राखेको अनसन अन्त्य भएको छ ।
२३ असोजमा काठमाडौंमा भएको सहमतिअनुसार इन्टर्न चिकित्सकको मागलाई चिकित्सा शिक्षा आयोगको बैठकमा लैजाने टुंगो लागेको छ । सरकार पक्षबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारीको नेतृत्वमा रहेको वार्ता टोलीले हरिजन पक्षसँग छलफल गरेको थियो ।
भत्ताबारे के भयो सहमति
समझदारीअनुसार एमबीबीएस, बीडीएसलगायत एक वर्षे इन्टर्नसिपमा रहने चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषय आयोगको बैठकमा पेस गरिने भएको छ । सोही विषयलाई मुख्य एजेन्डा बनाएर आयोगको बैठकमा छलफल हुने सहमति भएको हो ।
पहिलो सम्झौता कार्यान्वयन नभएपछि
हरिजन यसअघि गत साउनमा पनि अनसनमा बसेका थिए । माग सम्बोधन गर्ने भन्दै सरकारले साउन २२ गते उनीसँग सम्झौता गरेको थियो । तर आफूसँग भएको त्यो सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पुनः अनसन सुरु गरेका थिए । भक्तपुरस्थित चिकित्सा शिक्षा आयोगको परिसरबाट उनले अनसन थालेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई वीर अस्पताल पुर्याइएको थियो ।







