यही सेप्टेम्बरदेखि सातै प्रदेशमा सञ्चालन हुने एसियन पेन्ट्स च्याम्पियन्स कप २०२६–अल नेपाल इन्टरस्कुल फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। हिमालयन टाइम्सले आयोजना गर्ने यो प्रतियोगितामा सहभागिताका लागि देशभरका विद्यालयहरूबाट व्यापक आवेदन परेका थिए। छनोट तथा प्रमाणीकरणपछि ३५६ विद्यालयका ३६५ टोलीले सहभागिता पक्का गरेका छन्।
सहभागी टोलीमध्ये ३१२ यु–१८ बालक र ५३ यु–१८ बालिका टोली रहेका छन्। देशकै व्यापक यु–१८ विद्यालय फुटबल प्रतियोगिताका रूपमा रहेको यस आयोजनाले विद्यार्थी खेलाडीको प्रतिभा विकास, विद्यालयप्रतिको गौरव र स्वस्थ प्रतिस्पर्धा, टिमवर्क तथा नेतृत्व विकासमा सहयोग पुर्याउने लक्ष्य लिएको छ।
प्रादेशिक छनोटदेखि राष्ट्रिय च्याम्पियनसिपसम्म
प्रतियोगिताको प्रादेशिक छनोट चरण सेप्टेम्बर १ देखि १२ सम्म सञ्चालन हुनेछ। सातै प्रदेशका केन्द्रहरूमा हुने नकआउट खेलमार्फत प्रादेशिक विजेता टोलीहरू छनोट गरिनेछ।
प्रादेशिक विजेता टोलीहरू सेप्टेम्बर २१ देखि २५ सम्म हुने राष्ट्रिय च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्। सोही अवधिमा यु–१८ बालक र यु–१८ बालिका दुवै विधाका च्याम्पियन टोलीको विजयी नाम घोषणा गरिनेछ।
सेप्टेम्बर २५ मा हिमालयन टाइम्सले विद्यार्थीहरूका लागि एकीकृत मेगा कार्यक्रम आयोजना गर्नेछ, जसमा खेल प्रदर्शन, सिर्जनात्मकता र प्रतिस्पर्धात्मक चुनौतीका विधाहरू एकै मञ्चमा प्रस्तुत हुनेछन्। उक्त कार्यक्रममा एपीसीसी फुटबलका विजेताका साथै टिएचटी स्कूल टाइम्स सम्पादकीय च्यालेन्ज र इन्टरस्कुल चियरलिडिङ प्रतियोगिताका विजेताहरूको पनि घोषणा गरिनेछ।
ट्रफी टुर तथा साझेदार
पहिलो खेलअघि एपीसीसी ट्रफी टुरले प्रमुख क्षेत्रीय केन्द्रहरूको भ्रमण गर्नेछ। प्रमुख आयोजक विद्यालयहरूमा बिहानै विशेष कार्यक्रमसहित सुरु हुने ट्रफी टुरको पहिलो चरण अगस्ट २७ मा नेपालगन्जको होलिल्यान्ड इङ्लिस सेकेण्डरी स्कूलबाट सुरु हुनेछ। त्यसपछि अगस्ट २८ मा धनगढीको बाल्मिकी इन्टरनेसनल स्कूल, अगस्ट ३० मा पोखराको विष्णु पादुका सेकेण्डरी स्कूल, अगस्ट ३१ मा चितवनको वाल्मिकी शिक्षा सदन, सेप्टेम्बर १ मा सर्लाहीको श्री नारायण हायर सेकेण्डरी स्कूल र सेप्टेम्बर २ मा विराटनगरको बाल कल्याण विद्या मन्दिर पुग्नेछ।
युवा सशक्तीकरण र खेलकुद विकासका लागि राष्ट्रिय साझेदारहरूको सहयोगमा यो आयोजना सम्भव भएको हो। टाइटल स्पन्सर एसियन पेन्ट्स, पावर्ड बाइ पार्टनर एनसेल, मोबिलिटी पार्टनर बीवाईडी, बैंकिङ पार्टनर ग्लोबल आईएमई बैंक, इन्स्योरेन्स पार्टनर सूर्य ज्योति लाइफ इन्स्योरेन्स र हाइड्रेसन पार्टनर बाम बाम रहेका छन्।







