रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका दुई स्थानीय तहले आर्थिक सहयोग गर्ने भएका छन्। जिल्लाको चुलाचुली गाउँपालिकाले २५ लाख र माई नगरपालिकाले १० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
बिहीबार बसेको चुलाचुली गाउँपालिकाको ७६औँ कार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सात दिनको सेवासुविधा तथा वडाध्यक्ष र वडासदस्यहरूको पाँच दिनको सेवासुविधा कोषमा जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिकाका विभिन्न तहका कर्मचारीहरूको पारिश्रमिकबाट समेत रकम सङ्कलन गरिने अध्यक्ष राजेन्द्र केरुङले बताए।
“भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग पुग्ने विश्वाससहित जनप्रतिनिधि तथा शिक्षक कर्मचारीको तर्फबाट २५ लाख रुपैयाँ सङ्कलन गरी कोषमा जम्मा गर्नेछौँ,” केरुङले भने।
यस्तै, बिहीबार नै बसेको माई नगरपालिकाको ६५औँ कार्यपालिका बैठकले सबै जनप्रतिनिधिको १५ दिनको सेवासुविधा र कर्मचारीको दुई दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख खम्बासिंह लिम्बूले जानकारी दिए। जनप्रतिनिधि र कर्मचारीबाट सङ्कलित रकममा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम थप गरी १० लाख रुपैयाँ पुर्याइने उनले बताए।
इलाम जिल्लामा चार नगरपालिकासहित १० स्थानीय तह रहेका छन्।
आठ जना सम्पर्कविहीन
यसैबीच, भोटेकोशी बाढीमा परी इलामका आठ जना नागरिक सम्पर्कविहीन भएका छन्। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार बिहीबारसम्म प्राप्त विवरणअनुसार देउमाई नगरपालिकाका बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपाने, माई नगरपालिकाका नरेन्द्रप्रसाद दाहाल तथा सन्दकपुर गाउँपालिकाका दिवानन्द सुवेदी (दीपक) सम्पर्कविहीन भएका छन्। न्यौपाने दम्पती र दाहाल गोसाइँकुण्ड तीर्थयात्रामा रहेका थिए भने सुवेदी उनीहरूकै सवारी चालक हुन्।
त्यस्तै, माई नगरपालिकाका विनोद राई, फाकफोकथुम गाउँपालिका–६ का लिलाबहादुर थापा (लोक) र विनु थेगिम पनि सम्पर्कविहीन भएका छन्। उनीहरू तीनै जना रसुवाको मैलुङ गगनीमा रहेको निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार हुन्। यसैगरी, बैतडीको सिगास गाउँपालिका–७ घर भई हाल माई नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा कार्यरत वनरक्षक लक्ष्मणसिंह ऐर पनि सम्पर्कविहीन भएका छन्।
प्रजिअ ढकालले सुरक्षाकर्मी र जनप्रतिनिधिमार्फत जिल्लाका सम्पर्कविहीन नागरिकको विवरण सङ्कलन भइरहेको बताए। “बाढीमा हराएका जिल्लाका नागरिकको विवरण सङ्कलन भइरहेको छ भने सम्पर्कविहीन भएकाको खोजी तथा उद्धारका लागि पालिकासँग समन्वय गरिरहेका छौँ,” उनले भने। बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लाका नागरिकको अवस्था बुझी सम्बन्धित परिवारलाई जानकारी दिनसमेत उनले अपिल गरेका छन्।







