१२ भदौ, काठमाडौं । रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी एक ६ वर्षीया बालिकालाई सशस्त्र प्रहरी बल नेपालको टोलीले शुक्रबार साँझ उद्धार गरेको छ ।
टिमुरे क्षेत्रमा खोज तथा उद्धारका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिकाको रुवाइको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो । सोही क्रममा बालिका माटोमुनि पुरिएको अवस्थामा फेला परेकी थिइन् ।
उद्धारका बेला बालिका गम्भीर तथा अचेत अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई उद्धार गरेर सीमा सुरक्षा चौकी टिमुरे लगिएको छ र त्यहाँ न्यानो बनाएर राखिएको छ ।
बालिकाको स्वास्थ्य अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको सशस्त्र प्रहरी स्रोतले बताएको छ । तर रातको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन कठिनाइ भइरहेको बताइएको छ ।







