काठमाडौं महानगरपालिकाले बाढीबाट घाइते भई अस्पतालमा उपचार गराइरहेका र आफन्तहरू साथमा नभएका बिरामीहरूका लागि केयरटेकरको व्यवस्था गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत १३ भदौमा यो जानकारी गराएकी छन्।
डंगोलले उद्धार भनेको मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने मात्र नभएर ‘तपाईं एक्लो हुनुहुन्न, तपाईंको ख्याल गर्ने कोही छ’ भन्ने अनुभूति दिलाउने कार्यसमेत रहेको बताएकी छन्। सोहीअनुरूप परिवारका सदस्यहरू अस्पतालमा नभएका बिरामीहरूका निम्ति महानगरपालिकाले केयरटेकर उपलब्ध गराइरहेको उनको भनाइ छ।
उनले उद्धारसँगै पुनर्स्थापनाको विषयलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएकी छन्। अस्पतालमा बिरामीसँग सहानुभूतिपूर्वक सोधपुछ गर्ने, खाना खुवाउने र समयमै औषधि दिने जस्ता कार्यले बिरामीलाई ठूलो आँट मिल्ने उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन्।
डाक्टरहरूसँगको परामर्शपछि केही बिरामीलाई निरन्तर साथ दिने र दैनिक हेरचाह गर्ने व्यक्तिको आवश्यकता देखिएकाले महानगरले केयरटेकर व्यवस्था गरेको डंगोलले जानकारी दिएकी छन्।







