मुख्य सामग्रीमा जानुहोस्

रसुवा र नुवाकोटका २६ स्थानमा बाढीपीडितका लागि आश्रय तथा राहत केन्द्र सञ्चालनमा

रसुवा बाढीबाट विस्थापित भएकाहरूका लागि संघ र स्थानीय सरकारहरूले सहकार्य गरेर रसुवा र नुवाकोटका २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत वितरण केन्द्र सञ्चालनमा ल्याएका छन्। आइतबार ती केन्द्रहरूबाट तीन हजार ४५४ जनाले अस्थायी…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा र नुवाकोटका २६ स्थानमा बाढीपीडितका लागि आश्रय तथा राहत केन्द्र सञ्चालनमा
Online Khabar

काठमाडौं, १४ भदौ । रसुवा बाढीबाट विस्थापित भएकाहरूका लागि संघीय सरकार र स्थानीय सरकारहरूको सहकार्यमा रसुवा र नुवाकोटका २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार ती केन्द्रहरूबाट तीन हजार ४५४ जनाले अस्थायी आश्रय र राहत सुविधा पाएका छन् ।

नुवाकोटमा १६ वटा आश्रयस्थल सञ्चालनमा छन् भने रसुवामा १० वटा । प्रधानमन्त्री कार्यालयका अनुसार नुवाकोटका आश्रयस्थलमा दुई हजार २७४ जना र रसुवाका आश्रयस्थलमा एक हजार १८० जना आश्रित छन् ।

नुवाकोटमा १६ आश्रयस्थल

विदुर नगरपालिकाको तुप्चे क्षेत्रका प्रभावितहरूलाई पुस्तकालयमा आश्रय दिइएको छ । त्रिशुली ढुंगे र सिमचौरका प्रभावितहरूलाई सेफहाउस/किरियापुत्री भवन, बेत्रावतीका प्रभावितहरूलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितहरूलाई कभर्ड हल र देवीघाटका प्रभावितहरूलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ ।

बेत्रावती भैँसे क्षेत्रका प्रभावितहरू सुन्दरी क्यैरिनी माविमा बसेका छन् भने त्रिशूली बजार क्षेत्रका प्रभावितहरूका लागि कोलनी कभर्ड हल–भैरुम मावि, रिमाल डाँडा र इन्द्रायणि आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको छ । विदुर–३ देवीघाट सिटखाली क्षेत्रका प्रभावितहरूलाई रणभुवनेश्वरी मावि र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ ।

विदुर–९ का प्रभावितहरूलाई त्रिशूली आवि र शुलक्षणा माविमा राखिएको छ । बेलकोटगढीको रातमाटे जिलिङका प्रभावितहरू महादेव माविमा आश्रित छन् । किस्पाङ गाउँपालिका–५ का प्रभावितहरू कार्की मनकामना आवि र त्रिभुवन माविमा बसेका छन् भने रसुवाका केही प्रभावितहरूलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ ।

उद्धार गरिएका घाइतेहरूलाई विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा उपचारसँगै आश्रय दिइएको छ ।

रसुवामा १० आश्रयस्थल

रसुवाका बाढी प्रभावितहरूका लागि १० वटा अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको छ । उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ र आमाछोदिङ्गो गाउँपालिका–१ र २ का हाकु, पाङलिङ र ग्रेमामा आश्रयस्थल बनाइएका छन् ।

यसैगरी गोसाइकुण्ड गाउँपालिका–१, २, ३ र ५ का थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेँसी क्षेत्रमा पनि अस्थायी आश्रयस्थल सञ्चालन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।