मुख्य सामग्रीमा जानुहोस्

बारामा पाडो खोज्न निस्किएका व्यक्ति जंगलमा मृत फेला

घरबाट हराएको पाडो खोज्न निस्किएका देवीप्रसाद फुयाँलको शव बाराको जीतपुरसिमरा–१६ स्थित जंगलमा फेला परेको छ। स्थानीयले घटना रहस्यमय भन्दै सूक्ष्म अनुसन्धानको माग गरेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बारामा पाडो खोज्न निस्किएका व्यक्ति जंगलमा मृत फेला
Online Khabar

बारा — घरबाट हराएको पाडो खोज्न निस्किएका एक पुरुष मृत फेला परेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका ५५ वर्षीय देवीप्रसाद फुयाँलको शव आइतबार सहजनाथ महादेव मन्दिर नजिकैको जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

फुयाँल शनिबार बिहान ५ बजे पाडो खोज्न भन्दै साइकल चलाएर घरबाट निस्किएका थिए। दिनभर नफर्किएपछि स्थानीयले उनको खोजी थालेका थिए। खोजीकै क्रममा उनको शव भेटिएको प्रहरीले बताएको छ।

वडाध्यक्ष हरिदेव खरेलका अनुसार शवमाथि फुयाँलकै साइकल रहेको थियो भने चप्पल करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको थियो। घटना रहस्यमय देखिएको भन्दै स्थानीयवासीले सूक्ष्म अनुसन्धानको माग गरेका छन्।

शव भेटिएको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र र प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसहितको टोली घटनास्थल पुगेको थियो। तालिमप्राप्त कुकुरसहित पुगेको प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको थियो।

शवलाई शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ। प्रहरी उपरीक्षक कुँवरका अनुसार घटनास्थलको मुचुल्का गरी शव शल्यपरीक्षणका लागि पठाइएको हो र रिपोर्टले मृत्युको कारण खुलाउनेछ।

स्थानीयवासीका अनुसार फुयाँलले खोज्दै गरेको पाडो कोल्हवी नगरपालिकाको वडा नम्बर ८ रामनगरमा भेटिएको थियो। पाडो लिएर फर्कंदै गर्दा उनी बेपत्ता भएको बताइएको छ। स्थानीय रमेश सापकोटाले पाडो घर पुगे पनि फुयाँल नआएपछि खोजी सुरु गरिएको जानकारी दिए।