१६ भदौ, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले रायो भालेकानोलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा राफिन्हा र लामिन यमालले दुई–दुई गोल गरेका थिए ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रायो भालेकानोले भने पहिले अग्रता लिएको थियो । सर्जियो कामेलोले १२औं मिनेटमा गोल गर्दै रायोलाई अग्रता दिलाए । तर बार्सिलोनाले त्यसको प्रत्युत्तरमा दुई मिनेटको अन्तरालमा दुई गोल गर्यो । राफिन्हाले १९औं मिनेटमा बराबरी गोल फर्काए भने यमालले २१औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा फ्लोरियन लेजेगउनले ५१औं मिनेटमा आत्मघाती गोल गर्दा बार्सिलोनाले ३–१ को अग्रता बनायो । कामेलोले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रायोलाई खेलमा पुनरागमनको आशा दिलाए । तर राफिन्हाले ७१औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता फराकिलो पारे । यमालले ९०औं मिनेटमा अर्को गोल थप्दै बार्सिलोनालाई ५–२ को सानदार जित दिलाए ।
नयाँ सिजनमा लगातार तेस्रो जित निकाल्दै बार्सिलोना ९ अंकसहित ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । तीन खेलपछि बार्सिलोना र रियल मड्रिड मात्र शतप्रतिशत जितका साथ ९ अंक जोड्न सफल छन् । गोल अन्तरका आधारमा बार्सिलोना रियलभन्दा माथि रहेको छ ।
ब्राजिलका राफिन्हाले ला लिगाको सुरुवाती तीन खेलमा ५ गोल पूरा गरे । सन् २०१९ मा लियोनल मेसीपछि यो उपलब्धि हासिल गर्ने उनी बार्सिलोनाका पहिलो खेलाडी बनेका छन् । यस्तै १९ वर्षीय यमालले बार्सिलोनाका लागि ५० गोल पूरा गरेका छन् ।







