मुख्य सामग्रीमा जानुहोस्

कुशीनगरको गण्डक नदीमा भेटिए १३ शव, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारतको कुशीनगरस्थित गण्डक नदीबाट हालसम्म १३ वटा अज्ञात शव फेला परेका छन्। तीमध्ये ६ पुरुष र ७ महिला रहेको कुशीनगर प्रशासनले जनाएको छ। शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
कुशीनगरको गण्डक नदीमा भेटिए १३ शव, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका
Online Khabar

काठमाडौं, भदौ १६। नेपालको बाढी प्रभावित क्षेत्र हुँदै सीमापारि बग्ने भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रको गण्डक (नारायणी) नदीमा शव फेला पर्ने क्रम रोकिएको छैन। कुशीनगर जिल्ला प्रशासनले दिएको जानकारीअनुसार नदीबाट हालसम्म १३ वटा अज्ञात शव बरामद भएका छन्।

भेटिएका शवमध्ये ६ जना पुरुष र ७ जना महिला रहेको प्रशासनले जनाएको छ। बरामद भएका ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहको क्षमता अपुग भएपछि बाँकी ७ वटा शव गोरखपुरस्थित एम्स पुर्याइएको छ।

कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी (सीडीओ) वन्दिता श्रीवास्तवका अनुसार शवसँग सम्बन्धित कानुनी प्रक्रिया अघि बढाइएको छ। निर्धारित प्रक्रिया पूरा गरी पोस्टमार्टम गरिने र त्यसपछि शव नेपाल पक्षलाई हस्तान्तरण गरिने बताइएको छ।

शव बरामद भएको विषयमा कुशीनगर जिल्ला प्रशासनले नेपालतर्फका निकाय र अधिकारीसँग सम्पर्क कायम गरेको छ। भारतीय विदेश मन्त्रालयबाट पनि नेपाललाई शवबारे अवगत गराउने काम भइरहेको छ। शव नेपाल पक्षलाई हस्तान्तरण भएपछि पहिचान खुलाएर आफन्तसम्म पुर्याउने तयारी रहेको बताइएको छ।

नदीमा थप शव भेटिन सक्ने आशंकामा एसडीआरएफ र एनडीआरएफका टोलीले गण्डक (नारायणी) नदीमा निरन्तर खोजी तथा उद्धारका काम गरिरहेका छन्। यी शव रसुवा क्षेत्रको बाढीले बगाएर ल्याएको हुन सक्ने आशंका पनि गरिएको छ।

यसैबीच, नेपालबाट भारततर्फ जाने तथा आफन्तको खोजीमा कुशीनगर पुग्ने नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जिल्ला प्रशासनले नियन्त्रण कक्ष (कन्ट्रोल रुम) समेत स्थापना गरेको छ।