भोटेकोशी नदीमा आएको बाढीका कारण नारायणी हुँदै गण्डक बाँध क्षेत्र पार गरेर भारतीय भूभागसम्म पुगेका शवको सङ्ख्या १८ पुगेको छ । भारतीय सुरक्षा निकायले ती शव पश्चिम नवलपरासी र रुपन्देहीका सिमावर्ती सुरक्षा निकायलाई बुझाएको हो । भारतले फिर्ता गरेका शवमा एक बालिकासहित १० महिला र आठ पुरुष रहेको जनाइएको छ । पश्चिम नवलपरासी र रुपन्देहीमा नौ–नौ शव सुपुर्द गरिएको छ ।
भारतको बिहारस्थित पश्चिम चम्पारणबाट एक, उत्तरप्रदेशको महाराजगन्जबाट चार र कुशिनगरबाट १३ वटा शव नेपाललाई बुझाइएको बताइएको छ । रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार कुशिनगरको खड्डा थानाका जनपद प्रहरीले बुधबार चार र पडरौना थानाका जनपद प्रहरीले मंगलबार राति पाँच शव नेपाली पक्षलाई बुझाएका थिए ।
पश्चिम नवलपरासीका डिएसपी तथा प्रहरी सूचना अधिकारी मदन थापाले नारायणी नदी हुँदै भारततर्फ जाने शवको विषयमा भारतीय सुरक्षा निकायसँग समन्वय भइरहेको बताए । उनका अनुसार अहिलेसम्म भारतीय पक्षबाट १८ शव प्राप्त भइसकेका छन् । शव हस्तान्तरणका लागि बेलहिया पुगेका कुशिनगर खड्डा थानाका सबइन्स्पेक्टर सञ्जिवकुमार मौर्यले कुशिनगरको खड्डा थाना क्षेत्रअन्तर्गत मदनपुर–सुक्रौलीस्थित नारायणी नदी किनारको ३ नम्बर ठोकरबाट शव फेला परेको जानकारी दिए । नेपाल–भारत सीमामा पर्ने गण्डक बाँध क्षेत्रबाट सो स्थान करिब ३५ किलोमिटर टाढा रहेको छ ।
कुशिनगर पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवले शवको पञ्चायतनामा गरी पोस्टमार्टम गरिएको र डीएनएसहित आवश्यक प्रमाणहरू सुरक्षित राखिएको बताए । पश्चिम चम्पारण र महाराजगन्ज नेपालसँग सीमा जोडिएका भारतीय जिल्ला हुन् ।







