काठमाडौं । साउदी अरबको रियाद र मदिना क्षेत्र भएर जाने इस्ट-वेस्ट तेल पाइपलाइनमाथि भएको ड्रोन आक्रमणको मुस्लिम वर्ल्ड लिगले कडा निन्दा गरेको छ । साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार लिगले यस घटनालाई धार्मिक मूल्यमान्यता तथा अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घनका रूपमा लिएको छ ।
लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणलाई विश्वासघाती र आपराधिक कार्य भनेका छन् । यस्ता किसिमका आक्रमणले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन हुने उनको भनाइ छ ।
महासचिव अल-इसाले मुस्लिम वर्ल्ड लिग तथा यसका सम्बद्ध एकाइहरूका तर्फबाट साउदी अरबप्रति पूर्ण समर्थन जनाएका छन् । साउदी अरबको सुरक्षा र सार्वभौमसत्ताको रक्षाका लागि त्यसले चाल्ने जुनसुकै कदमको पक्षमा लिग उभिने उनले स्पष्ट पारेका छन् ।
आक्रमणकारीविरुद्ध कारबाही गर्ने र आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्ने पूर्ण अधिकार साउदी अरबसँग छ ।
जोर्डनको पनि निन्दा
यसैबीच जोर्डनले पनि साउदी अरबमाथि भएको उक्त आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । जोर्डनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन भनिएको छ ।
आक्रमणबारे दाबी
साउदी अरबको तेल पाइपलाइनमाथि इराकी भूमिबाट ड्रोन आक्रमण भएको दाबी गरिएको छ । इराक सरकारले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ भने साउदी अरबले इराकको उक्त कदमलाई समर्थन गरेको छ ।







