काठमाडौं — जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा परेका भाटभटेनी सुपरमार्केटका १२ स्टोरमध्ये १० स्टोर एक वर्षभित्र पुनः सञ्चालनमा आएका छन् । सोमबार टंगालस्थित स्टोर नयाँ भवनबाट खुलेसँगै पुनःस्थापित शाखाको संख्या दुई अंकमा पुगेको छ ।
गत वर्ष २४ भदौमा देशभर चर्किएको आन्दोलनका क्रममा कम्पनीका १२ स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । त्यसबाट ११ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति नष्ट हुँदा करिब ५ हजार रोजगारी जोखिममा परेको थियो । काठमाडौं उपत्यकाका टंगाल, महाराजगन्ज, बौद्ध र कोटेश्वरका स्टोरसँगै बालुवाटारस्थित मुख्य गोदाम, पोखरा, चितवन, हेटौंडा, विराटनगर, धरान, बिर्तामोड र दमकका शाखा आगजनीमा परेका थिए ।
भवन मात्र होइन, ती स्टोरभित्रको सामान, उपकरण र पूर्वाधारसमेत काम नलाग्ने गरी नष्ट भएको थियो । आन्दोलनअघि कम्पनीका स्टोरहरूबाट दैनिक औसत १० करोड ५० लाख रुपैयाँ हाराहारी कारोबार हुने गरेको र क्षति पुगेका १२ शाखा मुख्य कारोबार गर्ने स्टोर भएको प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले जानकारी दिएका छन् ।
क्षतिको सूचीमा नपरे पनि कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी र इटहरीलगायतका स्टोरमा पनि तोडफोड तथा लुटपाट भएको थियो ।
खरानी पन्छाएर सुरु भयो काम
आगजनी भएको करिब एक सप्ताहभित्रै पुनर्निर्माण सुरु गरिएको कम्पनीले जनाएको छ । खरानी, तातो फलाम र इँटा पन्छाएर काम थालिएको र एक वर्षमै १० स्टोर सञ्चालनमा ल्याउन सकिएको अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले टंगालको स्टोर उद्घाटनका अवसरमा बताए ।
पूर्ण रूपमा जलेका भवन पुनः ठड्याउनु सामान्य पुनर्निर्माणजस्तो नभएको पौडेलको भनाइ छ । भवनको संरचना, विद्युत् तथा प्राविधिक प्रणाली, स्टोरभित्रका उपकरण, बिक्री कक्ष र सामान व्यवस्थापनदेखि ग्राहक सेवासम्मका पूर्वाधार नयाँसिराबाट तयार गर्नुपरेको थियो । कम्पनीले चौबीसै घण्टा काम गर्यो र एउटा स्टोर सञ्चालनमा आउनेबित्तिकै अर्कोमा काम सारियो ।
त्यस क्रममा बालुवाटारस्थित मुख्य गोदाम क्षति पुगेको ७० दिनमै सञ्चालनमा आयो, जसलाई कम्पनीले आफ्नो मुख्य ‘लाइफलाइन’ मानेको थियो । त्यसको चार महिनापछि कोटेश्वरको स्टोर पुनर्निर्माण भयो । त्यसपछि क्रमशः महाराजगन्ज, चितवन, पोखरा, बौद्ध, विराटनगर, बिर्तामोड, धरान र टंगालका स्टोर सञ्चालनमा आएका छन् ।
रोजगारी जोगाउने निर्णय
भवन ध्वस्त भएपछि कम्पनीसामु हजारौं कर्मचारीको भविष्यको प्रश्न पनि उठेको थियो । भाटभटेनीमा कार्यरत करिब १० हजारमध्ये तोडफोड र आगजनीमा परेका शाखामा मात्रै करिब ५ हजार थिए । कम्पनीले कर्मचारीलाई कामबाट अलग नगर्ने निर्णय गर्यो, १० हजारभन्दा बढीको रोजगारी निरन्तर कायम रह्यो र २४ भदौपछि आएको दसैंमा बोनससमेत उपलब्ध गराइयो ।
दमक र हेटौंडा बाँकी
क्षतिग्रस्तमध्ये दमकको स्टोर आउँदो मंसिरभित्र र हेटौंडाको पुसभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको पौडेलले बताए । क्षतिग्रस्त १२ स्टोर पुनःस्थापनाका लागि करिब १५ अर्ब रुपैयाँ खर्च हुने देखिएको छ । पुनर्निर्माणको गतिसँगै दीर्घकालीन सञ्चालन र संरचनाको गुणस्तरमा पनि ध्यान दिइएको उनको दाबी छ ।
भाटभटेनीले ११ अर्बभन्दा बढी क्षति भएको दाबीसहित आयोगमा उजुरी दिइसकेको छ ।







