मुख्य सामग्रीमा जानुहोस्

प्रधानमन्त्री बालेन्द्र शाह मंसिरको पहिलो साता भारत जाने, मिति करिब तय

प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिरको पहिलो साता भारत भ्रमणमा जाने भएका छन् । भ्रमणको तयारी उनी र परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभा सकेर काठमाडौं फर्केपछि सुरु हुने स्रोतले जनाएको छ ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
प्रधानमन्त्री बालेन्द्र शाह मंसिरको पहिलो साता भारत जाने, मिति करिब तय
Online Khabar

प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो साता भारतको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको ठ्याक्कै मिति तय भइसकेको छैन, तर सोही अवधिका लागि भ्रमण निर्धारण गरिएको छ ।

प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनाल हाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा छन् । दुवैजना स्वदेश फर्केलगत्तै भारत भ्रमणको तयारी तीव्र रूपमा सुरु हुने स्रोतले जनाएको छ ।

न्युयोर्कमा भएको भेटवार्ता

महासभाकै क्रममा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच साइडलाइन भेटवार्ता भएको थियो । सो भेटमा पनि प्रधानमन्त्रीको भारत भ्रमणबारे कुरा उठेको स्रोतको भनाइ छ । तर यो शिष्टाचार भेट भएकाले विषयवस्तुबारे विस्तृत छलफल नभएको र प्रतिनिधिमण्डल स्वदेश फर्किएपछि तयारी अघि बढ्ने स्रोतले बताएको छ ।

भेटवार्ताका क्रममा नेपाल र भारतबीच सक्रिय रहेका ४० भन्दा बढी द्विपक्षीय संयन्त्रलाई परिचालन गर्दै दुई देशबीचको सहकार्य सघन बनाउने सहमति पनि भएको स्रोतले जनाएको छ ।

कुन विषयमा उपलब्धि खोज्दैछ सरकार ?

भ्रमणका क्रममा कुनै उल्लेखनीय उपलब्धि हासिल होस् भन्ने प्रधानमन्त्रीको चाहना रहेको स्रोतले बताएको छ । लामो समयदेखि रहँदै आएको सीमा विवाद र भैरहवा विमानस्थलका लागि भारतीय पक्षको अनुमति अड्किएको विषयमध्ये कुनै न कुनैमा सहमति जुटाई सार्थक पदचाप बनोस् भन्ने उनको अपेक्षा छ ।

भारत भ्रमण चाँडै गर्ने विषयमा यसअघि पनि दुवै पक्ष सहमत भए पनि समय तय हुन सकेको थिएन । अहिले भने करिब करिब मिति नै तय भएको स्रोतको दाबी छ ।

भ्रमणको तयारी कसरी अघि बढ्यो ?

प्रधानमन्त्रीमा शाह निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाईपत्रमार्फत नै भारत भ्रमणको निम्तो दिएका थिए । जवाफमा शाहले उचित समयमा भारत जाने जानकारी गराएका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यसअघि साउनको दोस्रो साता नै प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिइसकिएको बताएका थिए ।

भ्रमणकै विषयमा प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले असार अन्तिमतिर भारतको अनौपचारिक भ्रमण गरेको पनि खुलेको थियो । वर्तमान सरकार बनेलगत्तै परराष्ट्रमन्त्री खनालले गरेको मौरिसस भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग भारत भ्रमणबारे सैद्धान्तिक सहमति बनेको थियो ।

दुई मन्त्रीबीचको छलफलमा भ्रमणको मिति तय गर्नुअघि नयाँ सरकारले परराष्ट्र नीतिसँगै नेपाल–भारत सम्बन्धका विविध आयामबारे समीक्षा गरिरहेको जानकारी नेपालले गराएको थियो । दुई देशबीचको सम्बन्धका प्राथमिकता निर्धारण गरेपछि विभिन्न संयन्त्रमार्फत वार्ता तथा छलफल गर्ने र उच्चस्तरीय भ्रमणको तयारी गर्ने नेपालको प्रस्तावलाई जयशंकरले सकारात्मक रूपमा लिएको खनालले जानकारी दिएका थिए ।

गत चैतमा प्रधानमन्त्री नियुक्त भएलगत्तै शाहले एक वर्ष विदेश भ्रमण नगर्ने बताएका थिए र सुरुमा संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागी नहुने जनाएका थिए । तर भोटेकोशीमा आएको बाढीले ठूलो विनाश निम्त्याएपछि जलवायु न्यायको विषय बलियोसँग प्रस्तुत गर्ने भन्दै उनी न्युयोर्क पुगेका हुन् । त्यसलगत्तै उनको भारत भ्रमणको तयारी अघि बढेको हो ।