काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्टले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने बाटोतिर पार्टी अघि बढ्नु उपयुक्त नहुने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले निर्वाचन सम्पन्न भएको आठ महिना बितिसकेपछि सोही विषयलाई लिएर आन्दोलन गर्ने कुरा आत्मघाती र विनाशकारी हुन सक्ने धारणा राखेका हुन् ।
निर्वाचनमा सहभागिता जनाएर पराजय बेहोरेको अवस्थामा पुनर्स्थापनाको आन्दोलन गर्ने विषयले राजनीतिक नैतिकता, औचित्य र सान्दर्भिकताका दृष्टिले स्थान नपाउने उनको तर्क छ । निर्वाचनमै भाग नलिएको भए यस्तो कुरा उठाउनु वा आन्दोलनको चर्चा गर्नु जायज ठहरिन सक्ने पनि उनले बताए ।
अध्यक्षको प्रतिवेदनमा पहिलो मुख्य कार्यभारका रूपमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने आशय राखिएको उल्लेख गर्दै बिष्टले त्यस्तो लेखन फिर्ता लिनुपर्ने माग गरेका छन् । पार्टीका लागि त्यस किसिमको अग्रसरता घातक बन्न सक्ने भन्दै उनले प्रतिवेदनको सो वाक्यांश हटाउन आग्रह गरेका छन् ।
कार्यदलको प्रतिवेदन विषय
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले तयार गरेको सर्वसम्मत प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत नगरिनुलाई उपाध्यक्ष बिष्टले केन्द्रीय कमिटीको अवमूल्यन र अपमानका रूपमा लिएका छन् ।
उक्त कार्यदलमा पार्टी अध्यक्षले नै सिफारिस गरी छनोट गरेका व्यक्तिहरू सम्मिलित रहेको सन्दर्भ उल्लेख गर्दै उनले कार्यदलको सर्वसम्मत निष्कर्षलाई बेवास्ता गर्न नहुने बताएका छन् ।







